सरकारको मापदण्ड पूरा नगरेको भन्दै प्रवक्ता गौतमको कटाक्षः सभ्य नागरिक बन्न सुझाव

काठमाडौं, १६ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा अझै दुई मिटरको दुरी कायम राख्ने व्यवस्था लागू नभएको बताएको छ ।
मन्त्रालयले कोरोना संक्रमणको जोखिमबाट बच्नकालागि व्यक्ति व्यक्तिबीच कम्तिमा दुई मिटरको दुरी कायम गर्नुपर्ने नियम लागू नभएको जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपाली नागरिकमा अझै चेतनाको विकास नभएको भन्दै सरकारले बनाएको नियम उल्लघंन भएको बताए ।
उनले भने, ‘कोरोना संक्रमणको जोखिमलाई कम गर्नका लागि सरकारले सामान खरिद गर्न जादा दुई मिटरको दुरी कायम गर्न भनिएको छ । तर, दुरी कायम गर्नु कहाँ हो कहाँ मानिसहरु पुरै एक अर्कासँग टासिएर बसिरहेका हुन्छन् ।’
लाईनमा बसेर एक अर्काबीच दुरी कायम गरेर सामान खरिद गर्नका लागि सबेरै उठ्ने, भिड भएको बेलामा नजाने गर्नुको साटो मानिसहरु तछाडमछाड गर्दै पसलमा जम्मा हुने गरेको देखिन्छ भन्दै डा गौतमले हतार गर्नुभन्दा आफ्नो स्वास्थ्यको सुरक्षामा ध्यान दिनुपर्ने बानीको विकास अझै मानिसहरुमा हुन नसकेको बताए ।
लाईनमा बसेर पद सानो हुने होइन बरु जोखिमबाट जोगिन सकिन्छ भन्ने कुराका नबुझ्दा त्यसले संक्रमणको जोखिममा पुर्याउने पनि उनले उल्लेख गरे ।
डा गौतमले मास्क लगाउनाले धेरै हदसम्म संक्रमणको जोखिमलाई कम गर्न सकिने भएकाले आफन्त वा जोकोहीसँग भेटघाट हुँदा मास्कको अनिवार्य रुपमा प्रयोग गर्न पनि आग्रह गरे ।
नागरिकलाई जति भन्दा पनि नसुन्ने देखिएपछि कटाक्ष गर्दै डा गौतमले लाईनमा बसेकाहरुलाई बेवास्ता गरेर अगाडी गएर सामान खरिद गर्ने, ठूलो स्वरले बोल्ने बानीले एक अर्कालाई झन् जोखिम हुने भएकाले सभ्य नागरिकको पहिचान दिन पनि सुझाव दिए ।
सरकारले तोकेका स्वास्थ्य मापदण्ड तपाईंकै स्वास्थ्यका लागि भएकाले यसलाई वेवास्ता नगर्न भन्दै डा गौतमले स्वास्थ्य सम्बन्धी बानीलाई सुधार्न फेरि पनि आग्रह गरे ।