नेपालमा बढ्दो कोरोना संक्रमण दरः विज्ञ भन्छन् अझै नियन्त्रणमा ल्याउन सकिन्छ

काठमाडौं, १६ भदौ । नेपालमा गत एक महिनामा महिलामा हुने कोरोना संक्रमण १४ प्रतिशतले बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन १६ देखि भदौ १६ सम्म नेपालमा महिलामा हुने कोरोना भाइरसको संक्रमण १४ प्रतिशतले वृद्धि भएको हो ।
मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा सुरेश तिवारीले एक महिना अघि नेपालका ८ प्रतिशत महिलामा मात्रै संक्रमण देखिएको थियो भने हाल आएर २२ देखि २३ प्रतिशतमा पुगेको बताए । उनले नेपालमा पछिल्लो समय संक्रमणको दर बढेसँगै महिलामा पनि संक्रमणको दर बढ्न थालेको बताए ।
यस्तै वृद्धवद्धामा पनि कोरोना संक्रमणको दर बढेको उनले बताए । डा तिवारीले एक महिनाअघि एक प्रतिशत वृद्धवृद्धामा संक्रमण देखिएकोमा हाल आएर त्यो संख्या ४ प्रतिशतमा पुगेको बताए ।
डा तिवारीले सुरुवाती क्रममा बाहिरबाट आएकाहरुमा कोरोना संक्रमण पुष्टि हुने गरेकोमा हाल आएर समुदायस्तरमै संक्रमण फैलिएको भन्ने आशंका उत्पन्न भएकाले अब सबै उमेर समूहका व्यक्तिमा कोरोना संक्रमण देखिन थालेको बताए ।
उनले भने, ‘नेपालमा सुरुवाती क्रममा बाहिरबाट आएकाहरुमा मात्रै कोरोना संक्रमण देखिएको थिया भने पछिल्लो समय देखिएको ९६ प्रतिशत संक्रमण स्थानीय तहमै देखिएको हुनाले समुदायस्तरमै कोरोना फैलियो भन्ने प्रश्न उब्जिएको हो ।’
कोरोना संक्रमणको कुनै ठोस उपचार नभएका कारणले लक्षणको आधारमा उपचार हुने हुँदा सकेसम्म सरकारले तोकेका सुरक्षा र स्वास्थ्यका मापदण्ड पूरा गर्न पनि उनले सबैलाई आग्रह गरे ।
डा तिवारीले तीन तहकै सरकारले आफ्नो तर्फबाट महामारी विरुद्धको लडाईंमा लागिरहेको बेला नागरिकले पनि सचेत भएर सहयोग गर्नुपर्ने उल्लेख गरे ।
उनले भने, ‘कोरोना संक्रमणका कारण नेपालको अवस्था भयावह अझै नभएकाले हामीले यसलाई समयमै रोक्न सक्छौ । तर, त्यसका लागि सबैको साथ र सहयोगको आवश्यक हुन्छ । १२ जिल्लामा फैलिएको संक्रमणलाई नियन्त्रण गर्नमा सबैको ध्यान केन्द्रीत हुनुपर्ने देखिन्छ ।’
नेपालका ७७ जिल्लामध्ये १२ जिल्लामा मात्रै ७३ प्रतिशत कोरोना संक्रमण फैलिएको हुनाले ती जिल्लामा मात्रै पनि हामीले कोरोना संक्रमण नियन्त्रण गर्न सक्यौ भने स्थिति नियन्त्रणमा आउन सक्ने उनको भनाइ छ ।