नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो, २२ हजारभन्दा बढी स्वस्थ

काठमाडौं, १६ भदौ । नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी नियमित जानकारी दिने क्रममा नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघेको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा गरिएको १२ हजार ८८ पिसिआर परीक्षणमा थप एक हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
उनले पछिल्लो २४ घन्टामा ३ सय ४४ जना महिला र ७ सय २५ जना पुरुष गरि एक हजार ६९ जना नयाँ संक्रमित थपिएको बताए ।
योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा थप ७ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संह्या २२ हजार १ सय ७८ पुगेको छ ।
यस्तै हाल नेपालभर १८ हजार १ सय १२ सक्रिय संक्रमितहरु रहेका छन् भने ७ हजार ३ सय ९० जना क्वारेन्टाइनमा रहेका छन् ।
मन्त्रालयका अनुसार हाल नेपालमा १० हजार ८ सय ३२ जना संस्थागत आइसोलेसनमा छन् भने ७ हजार २ सय ८० जना होम आइसोलेसनमा रहेका छन् ।