सुदूरपश्चिममा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५ हजार नजिक

धनगढी, १६ भदौ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५ हजार नजिक पुगेको छ ।
थप ५० जना कोरोना संक्रमित निको भएसँगै सुदूरपश्चिम प्रदेशमा निको हुनेको संख्या ५ हजार नजिक पुगेको हो ।
नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सोमवार अछामबाट १८, डोटीबाट १३, महाकाली अस्पतालबाट १२, टीकापुर अस्पतालबाट ६ र सेती प्रादेशिक अस्पतालबाट एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।
योसँगै प्रदेशमा झण्डै पाँच हजार संक्रमितले कोरोना जितेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाका चार हजार नौ सय ७९ जनाले कोरोना जितेका छन् ।
अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ३८ जना निको भएर घर फर्किएका छन् । यस्तै डोटीका आँठ सय १६, अछामका पनि आँठ सय १३, कञ्चनपुरका ६ सय २८ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ ।
बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २२, डडेल्धुराका दुई सय ९९, बझाङका दुई सय ८० जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा आईतबार सम्म पाँच हजार नौ सय २९ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये १४ जनाको मृत्यु भईसकेको छ ।