बिरामी लिएर सर्लाही फर्किदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना घाइते

चितवन, १६ भदौ । बिरामी लिएर काठमाडौंबाट सर्लाही फर्कदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने ठाउँमा पृथ्वीराजमार्गदेखि तल त्रिशूली किनारमा एम्बुलेन्स खस्दा पाँच जना घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।
आज बिहान ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी नान्तीराज गुरुङले बताए ।
दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगर गम्भीर घाइते भएको पनि उनले बताए । यस्तै एम्बुलेन्स चालक झापा गौरीगञ्ज गाउँपालिका–१ का सरोज दाहाल पनि घाइते भएका छन् । उनको अवस्था भने मध्यम रहेको छ । अन्य घाइतेमा बरहथवाका ५० वर्षीया दिलमाया रानामगर, २६ वर्षकी मेककुमारी रानामगर, र ३४ वर्षका नरबहादुर मगर रहेका छन् । उनीहरुको अवस्था पनि मध्यम रहेको बताइएको छ ।
घाइते दिलमाया रानामगर क्यान्सरकी बिरामी हुन् । उनको उपचारपछि घर फर्कंदै गर्दा दुर्घटना भएको प्रहरीले बताएको छ । घाइतेहरु सवैलाई उपचारका लागि भरतपुर पठाएको मुग्लिन प्रहरीले जनाएको छ ।