रुपन्देहीको भीम अस्पतालमा आईसीयू सेवा सुरु, पाँच जना कोरोना संक्रमित भर्ना

रुपन्देही, १६ भदौ । कोरोना संक्रमितको उपचार गर्ने डेडिगेटेड अस्पताल रुपन्देहीको भीम अस्पतालमा आईसीयू सेवा सञ्चालनमा आएको छ ।
कोरोना विशेष अस्पतालको रुपमा रहेको भीम अस्पतालमा यसअघि जनशक्ति अभावमा आईसीयू सेवा सुचारु हुन सकेको थिएन ।
भीम असपतालका कोरोना फोकल पर्सन डा सुमित प्रजापतिले आईसीयू सञ्चालनको लागि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन भएपछि सोमवारदेखि आईसीयू सञ्चालन भएको जानकारी दिए ।
अस्पतालमा ५ बेडको आईसीयू सञ्चालनमा आएको हो । संक्रमितहरुको उपचारको लागि २२ आईसोलेशन बेड पनि तयार भईसकेको छ ।
आईसीयूमा ५ जना बिरामी भर्ना भएका छन् भने आईसोलेशन बेड पनि भरिएको डा प्रजापतिले जानकारी दिए ।
यसैबीच सामाजिक विकास मन्त्री सुदर्शन बरालले सोमवार भीम अस्पतालको अवलोकन गरेका छन् ।
मन्त्री बरालले कोभिड १९ को लक्षण देखिएका क्रिटिकल बिरामीको संख्या वृद्धि हँुदै जादा आईसीयू बेड क्षमता वृद्धि गर्नु परेकाले आईसीयू सञ्चालन गरिएको बताउदै संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिएका थिए ।
आवश्यक जनशक्ति र वजेट अभाव हुन नदिने बताउदै मन्त्रि बरालले गुनासोरहित ढंकले बिरामीको उपचारमा जुट्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।
भीम अस्पतालका मेसु डा सकुन्तला गुप्ताले सोमवारबाट सबै आईसीयू बेड सञ्चालन भएको बताईन् ।
प्रदेश ५ मा आईसीयू बेड जम्मा ३४ वटा छन् । जसमध्ये बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १६, भैरहवाको भीम अस्पतालमा ५, बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ८ र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ५ वटा बेड रहेका छन् ।