सुदूरपश्चिमका तीन अस्पतालमा आईसीयू सेवा विस्तार गर्न ७ करोड विनियोजन

धनगढी, १५ भदौ । सुदूरपश्चिमका तीन अस्पतालमा आईसीयू सेवा विस्तार गर्न ७ करोड बजेट विनियोजन गरिएको छ ।
संघिय सरकारले डडेल्धुरा अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल र कैलालीको टीकापुर अस्पतालमा भेन्टिलेटर सहितको आईसियू सेवा विस्तारका लागि ७ करोड बजेटको सुनिश्चितता पठाएको हो ।
डडेल्धुरा अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिश विष्टले संघिय सरकारले पाँच वटा भेन्टिलेटर सहित १५ शय्याको आईसियू सेवा विस्तार गर्न तीन करोड बजेटको सुनिश्चितता पठाएको जानकारी दिए ।
उनले संघिय सरकारले पठाएको बजेट सुनिश्चितताका आधारमा आईसियू र भेन्टिलेटर खरिदका लागि प्रक्रिया थालिने जानकारी समेत गराए । यस्तै महाकाली अस्पताल र टीकापुर अस्पतालमा आईसियू सेवा विस्तारका लागि पनि संघिय सरकारले दुई/दुई करोडको बजेट सुनिश्चितता दिएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले दुवै अस्पतालमा ४/४ वटा भेन्टिलेटर सहित १०/१० शय्याको आईसीयू सेवा सञ्चालनका लागि बजेटको सुनिश्चितता पठाएको जानकारी दिए ।
सुदूरपश्चिममा अहिले सेती प्रादेशिक अस्पतालमा ७ वटा भेन्टिलेटर र १० शैयाको आईसियू सञ्चालन छ भने कञ्चनपुरको महाकाली अस्पतालमा तीन वटा भेन्टिलेटर सहित ८ शय्याको आईसीयू सेवा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सरकारले कोरोना भाईरसका संक्रमित बढ्दै गएपछि अस्पतालहरुमा भेन्टिलेटर र आईसीयू सेवा विस्तार गर्न लागेको हो ।