महाकाली अस्पतालमा आईसीयू सेवा सुरु



Download our app to get more features

कञ्चनपुर, १५ भदौ । कञ्चनपुरको महाकाली अस्पतालमा सघन उपचार कक्ष ‘आईसीयू’ सेवा सुरु भएको छ । 

प्रतिनिधिसभाअन्र्तगत महिला तथा सामाजिक समितिका सभापति निरु पालले सोमबार सेवाको उद्दाटन गर्दै नागरिक स्वास्थ्य सेवालाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने बताइन् । 

“केही महिनाभित्रै देखिने गरी अस्पतालको सेवामा सुधार ल्याउनु पर्दछ”, उनले भनिन् “यो अस्पताल अब रिफर अस्पताल रहनु हुँदैन ।” अस्पतालको विकास, विस्तार र प्रभावकारी सेवा प्रवाहमा यहाँका जनप्रतिनिधि र राजनीतिक दलले सकारात्मक भूमिका खेल्नुपर्नेमा उनले जोड दिइन् ।  सो अवसरमा उनले थाइराइड मेसिन र आधुनिक एम्बुलेन्स सेवाको शुभारम्भ समेत गरिन् ।  

महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. हरिकुमार श्रेष्ठले हाल ६ शय्याको आइसीयु सेवा सञ्चालनमा आएको जानकारी दिदैं निकट भविष्यमा दश शय्याको पु¥याइने बताए ।  उनले विगत एक महिनामा ४३ जना बिरामी आइसीयु उपचारपछि निको भएर घर फर्किएको जानकारी दिए । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले अस्पताललाई प्रविधियुक्त बनाउनुपर्ने अहिलको आवश्यकतालाई ध्यानमा राखेर सोही अनुरुप कार्य भइरहेको बताए । “अस्पतालको विकास, विस्तार र प्रभावकारी सेवा प्रवाहका लागि सबैको सहयोग र समन्वय आवश्यक छ”, उनले भने “आइसीयु सञ्चालनले बिरामीलाई धेरै सहज हुनेछ ।”

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले अस्पतालको विकास र सुधारका लागि नगरपालिकाले अस्पतालसंग सहकार्य गर्न तयार रहेको बताए । 

“अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन हाडजोर्नी र स्त्रीरोग विशेषज्ञ चिकित्सक ल्याउन पहल भइरहेको छ”, उनले भने “चिकित्सकको व्यवस्थापनका लागि आवश्यक पर्ने हरेक किसिमको सहयोग गर्न नगरपालिका तयार छ ।”

Last modified on 2020-08-31 14:39:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts