सेती प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्ने तयारी

धनगढी, १५ भदौ । सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार थालिने भएको छ ।
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धनात्मक उपचार सुरु गरिने भएको हो ।
कोरोना भाईरसका गम्भिर बिरामी देखिए उक्त विधिबाट उपचार गरिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
‘गम्भीर किसिमको कोरोना संक्रमण देखिए प्लाज्मा थेरापी विधिबाट उपचार गर्नका लागि सेती प्रादेशिक अस्पताल तयार भएको छ,’ उनले भने, ‘त्यसका लागि कोरोना लागेर निको भएका विरामीले रगत दिनुपर्छ । हामीले संक्रमण मुक्त भएकालाई रक्तदानका लागि आग्रह गरेका छौं ।’
प्लाज्मा थेरीपी गर्न कोरोना संक्रमणबाट निको भएका व्यक्तिको रगत आवश्यक पर्दछ । कोरोना निको भएका व्यक्तिको शरीरमा भाइरससँग लड्न एन्टिबडी उत्पादन भएको हुनाले प्लाज्मा छुट्याएर संक्रमित बिरामीलाई प्लाज्मा चढाउने गरिएको छ ।
संक्रमित भएर निको भएका व्यक्तिको शरिरमा बनेको एन्टिबडी संक्रमित व्यक्तिलाई प्लाज्मा चढाउँदा कोरोना भाइरसलाई मार्ने र संक्रमित व्यक्ति निको हुने चिकित्सकहरुले बताएका छन् । कोरोना जितेर घर फर्कएकालाई आफ्नो प्लाज्मा दान गरी अन्य बिरामीको जीवन रक्षा गर्न सेती अस्पतालले आग्रह गरेको छ ।
कोरोना भाइरस संक्रमित जसको रोग प्रतिरोधात्मक क्षमता कम छ त्यस्ता बिरामीलाई प्लाज्मा थेरापी गर्दा निको पार्न सहज हुने दावी गरिएको छ ।