रुपन्देहीमा कोरोना निको पार्ने आयूर्वेद अर्कबटी’ औषधी बनेको आयुर्वेदाचार्य डा. बद्री गौतमको दावी

रुपन्देही, १५ भदौ । भैरहवाका आयुर्वेदाचार्य डा. बद्री गौतमले आफूले तयार पारेको जडीबुटी औषधिबाट कोरोना भाइरस संक्रमणका बिरामी निको भएको बताएका छन् ।
उनले आफूले बनाएको औषधिको नाम ‘अर्कबटी’ राखेका छन् । तीन दशकदेखि जडीबुटीमा अनुसन्धान गर्दै आएका आयुर्वेदाचार्य डा. गौतमले कोरोना संक्रमित १ सय ५३ जनाले यो औषधि सेवन गरेकोमा १३५ जना निको भइसकेको बताए ।
डा. गौतमका अनुसार बाँकी १८ जना बिरामीले पनि औषधि सेवन गरिरहेका छन् । नेपालमा पाइने ५ प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरी आयुर्वेदिक औषधिको गोली तयार पारेका उनको भनाइ छ ।
चीनको वुहान प्रान्तमा कोरोना भाइरसका कारण मानिसको मृत्यु भएको खबर सुन्नसाथ जडिबुटीबाट औषधि बनाउन आफूले अध्ययन थालेको उनले बताए ।
२५ सय वर्षपहिले अत्रि ऋषिले पत्ता लगाएको सूत्रअनुसार श्वासप्रश्वास र पाचन नलीमा हुने रोग निको पार्न प्रयोग गरिएको जडिबुटी नै कोरोना भाइरसको औषधि बन्नसक्ने ठानेर सोही विधिअनुसार औषधि तयार पारेको डा. गौतमले बताए । निजीरूपमा १५ लाख रुपैयाँ खर्च गरेर ‘अर्कबटी’ आयुर्वेदिक औषधि तयार पारेको उनको भनाइ छ ।
डा. गौतमका अनुसार कोरोना भाइरस संक्रमण सुरु हुनुअघि उनको नाकमा मासु पलाएको थियो । साथीहरूले उपचारका लागि भारत जान सुझाएका थिए । उनले भने, ‘मैले आफैँ औषधि बनाएर प्रयोग गरेँ, ५ दिनमै नाकको घाउ निको भयो, रुघाखोकी लागेका बिरामी निको भए ।’
रुपन्देहीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि एकाएक ‘अर्कबटी’ को माग बढेको छ । भैरहवाको युनिभर्सल मेडिकल कलेजमामा कार्यरत एक जना संक्रमित स्वास्थ्यकर्मीले अर्कबटी सेवनपछि श्वासप्रश्वासमा आफूलाई सुधार भएको बताइन् । उनले भनिन्, ‘मलाई संक्रमण थियो, मेरो श्रीमानको कन्ट्याक्ट ट्रेसिङ भयो तर रिपोर्ट नआउँदै आत्तिएर अर्कबटी खानुभयो, अहिले सुधार भएको छ ।’यी स्वास्थ्यकर्मीको उमेर ५२ वर्ष र उनका श्रीमानको उमेर ६५ वर्ष छ ।
बुटबलका पत्रकार डिआर घिमिरेले पनि बुटबलको नयाँ गाउँमा १० जना संक्रमित अर्कबटी सेवन गरेर निको भएको बताए । बुटबल उपमहानगरका एक कर्मचारी र उनकी श्रीमतीले पनि अर्कबटी सेवन गरेको र संक्रमणमुक्त भएको घिमिरेले बताए ।
कतै आश्वासन त कतै आरोप
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आयुर्वेदिक औषधि अर्कबटीबारे जानकारी पाएर शुभकामना दिएको डा. गौतमले बताए । वागमती प्रदेशका मन्त्री अरुण नेपालले अनुसन्धानका लागि प्रयोगशाला आवश्यक भए सहयो गर्ने आश्वासन दिएको पनि डा गौतमले बताए ।
ड. गौतमले प्रदेश ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले फोन गरेर औषधी बारे अध्यन गर्न प्रदेश सरकारले टोली बनाएर पठाएको बताए । तर प्रदेश ५का आयुर्वेदका चिकित्सकले उल्टै आयुर्वेद चिकित्सकले भ्रम फैलाएको वताएकाछन् ।
औषधि दर्ताको प्रयास
डा गौतमले आफूले बनाएको अर्कबटी आयुर्वेदिक औषधि दर्ताका लागि औषधि व्यवस्था विभागमा पठाएको बताएका छन् । श्वासप्रश्वास, रुघा र पाचनसँग सम्बन्धित रोग निको पार्ने औषधिका रूपमा दर्ता गर्ने प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।
पाँच प्रकारका जडीबुटी र स्वर्ण धातु मिश्रित अर्कबटी दर्ता भएपछि वैधानिक रूपमा बजारमा ल्याउने डा गौतमले बताए । स्वाद र गन्ध थाहा नपाउने, ज्वरो आउने, पखला लाग्ने र बान्ता हुने लक्षणका बिरामी अर्कबुटीले १० दिनमा निको हुने डा. गौतमको भनाइ छ ।
औषधिको माग धेरै आएको भए पनि दर्ता नभएकाले आपूर्ति नगरेको उनले बताए । उनका अनुसार नेपालमा वार्षिक ५ अर्बको रुपैयाँको आयुर्वेद औषधि खपत हुन्छ ।