दार्चुलामा स्क्रब टाइफसका बिरामी भेटिए

दार्चुला, १५ भदौ । दार्चुलामा ५ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्। जिल्ला अस्पताल दार्चुलामा भदौ १२ र १४ गते गरिएको परीक्षणमा ३ जना महिला तथा २ जना पुरुषमा स्क्रब टाइफस भेटिएको हो ।
स्क्रब टाइफस रोगसँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल आएका उनीहरुको आरडीटी परीक्षण गर्दा संक्रमण देखापरेको अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए।
जिल्लाको महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई जना महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक जनामा पुरुषमा स्क्रब टाइफसको संक्रमण देखापरेको हो ।
उनीहरुमध्ये एक जनालाई धनगढी रेफर गरिएको छ भने एक जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ। बाँकी तीन जनामा रोगका सामान्य लक्षण भएका कारण उनीहरुलाई डिस्चार्ज गरिएको छ। परजीवी जातको भुसुना (किर्ना)ले टोकेमा स्क्रब टाइफस लाग्ने स्वास्थ्यकर्मीले बताएकाछन् ।
संक्रमण भएमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखापर्ने, अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन प्रक्रियामा गडबडी हुनेलगायतका लक्षण देखापर्ने गर्छ ।
रोगको संक्रमण रोक्न किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै प्रमुख रोकथाम हो । किर्नाको टोकाइबाट बँच्न खेतीवारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जादाँपुरा शरिर ढाकीने कपडा लगाउने संभव भए बुट लगाउने, घासबारी वा चौर मा बस्दा गुद्री वा अरुकेही ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरण बनाउनुपर्छ ।