१४ दिनमै कोरोना सङ्क्रमणपछि निको हुने दर नेपालमा १० प्रतिशतले घट्यो

काठमाडौं, १५ भदौ । नेपालमा कोरोना सङ्क्रमणपछि निको हुने दरमा कमी हुँन थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा भदौ एक गतेदेखि १४ गतेसम्म झन्डै प्रतिशतले कोरोना सङ्क्रमित निको हुने दरमा कमी आएको हो ।
मन्त्रालयको तथ्यांक अनुसार भदौ एक गते नेपालभर कोरोना संक्रमणपछि १७ हजार ४ सय ९५ जना स्वस्थ भएका थिए । जुन दर ६४ दशमलव २ प्रतिशत रहेको थियो भने भदौ १४ गते निको हुनेको संख्यामा १० प्रतिशतले कमी आएको छ ।
भदौ १४ गते नेपालभर कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या २० हजार ८ सय २२ रहेको छ । जुन दर ५४ प्रतिशतमा झरेको छ । १४ दिनमा नेपालमा कोरोना संक्रमणपछि निको हुनेको दरमा झन्डै १० दशमलव २ प्रतिशतले कमी आएको छ ।
सरकारले पनि नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको दरमा कमी आएको र विश्व स्वास्थ्य संगठनले पनि नेपालमा सङ्क्रमितको तुलनामा निको हुने दर निकै कम रहेको जनाएको छ ।
संगठनले नेपालमा कोरोना सङ्क्रमणपछि निको हुने दर दक्षिण एसियामै सबैभन्दा कम रहेको पनि जनाएको छ ।
भारतमै हेर्ने हो भने ३६ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । जसमा २७ लाखभन्दा बढी स्वस्थ भइसकेका छन् । तर, नेपालमा कोरोना सङ्क्रमितको दरमा जुन अनुपातमा वृद्धि हुँदै गएको छ त्यस अनुपातमा निको हुनेको दर भने बढेको छैन । जुन चिन्ताको विषय बन्न सक्ने विज्ञहरुको भनाइ छ ।
यदि नेपालमा कोरोना सङ्क्रमणको अनुपात मात्रै बढ्ने हो र निको हुने दरमा कमी हुँदै जाने हो भने त्यसले भयावह स्थिति बन्न सक्ने अनुमान विज्ञहरुको छ ।