नेपालमा कोरोना संक्रमित थपिनेको नयाँ रेकर्ड, एकैदिन थपिए १२ सय २१ जना

काठमाडौं, १४ भदौ । नेपालमा हालसम्मकै धेरै कोरोना संक्रमित एकैदिन थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी नियमित जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै १२ सय २१ जनामा कोरोना संक्रमित फेला परेका छन् ।
यसअघि नेपालमा एकैदिन ११ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १२ हजार ७ सय १७ पिसिआर परीक्षण गर्दा ३ सय ४८ जना महिला र ८ सय ७५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
उनले योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको जानकारी गराए ।
यसैगरी नेपालमा कोरोना भाइरसका कारण निको हुनेको संख्या २० हजार ८ सय २२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप २ सय ६७ जना निको भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या प्रतिशतमा ५४ प्रतिशत रहेको बताए ।
यस्तै हाल नेपालमा १७ हजार ५ सय १८ जना सक्रिय संक्रमित रहेका छन् । डा गौतमले नेपालमा १० हजार ६ सय १२ जना संस्थागत आइसोलेसनमा रहेको र होम आइसोलेसनमा ६ हजार ९ सय ६ जना रहेको बताए ।
यस्तै पछिल्लो २४ घन्टामा थप १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष रहेका छन् । योसँगै नपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।