कोरोना संक्रमणले धरानमा दुई, ललितपुर र सप्तरीमा एक एक जनाको मृत्यु

काठमाण्डौ, १४ भदौ । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणले आमाछोराको एकै दिन मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका(१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो ।
आमाको बिहान ८ स्३० र छोराको ७ ४५ बजे मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ । आमाछोरा नै मधुमेह र उच्च रक्तचापको समस्या र अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्यरोले च्यापेपछि शनिबार साँझमात्रै प्रतिष्ठानमा भर्ना भएका थिए ।
मृतक दुवैजनामा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यता ललितपुरको पाटन अस्पतालमा उपचाररत २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । उनको गएराति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
ललितपुर निवासी ती युवक गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
उनमा अन्य रोग थियो कि थिएन भन्ने कुरा जनस्वास्थ्य कार्यालयले खुलाएको छैन । साथै उनको ट्राभल हिस्ट्रीबारे पनि थाहा हुन सकेको छैन । शुक्रबार रातिदेखि शनिबार दिउँसोसम्ममा पाटन अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
यस्तै, सप्तरीमा थप एक जना कोरोना सङ्क्रमित महिलाको ज्यान गएको छ ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर(२ तेतरीगाछी निवासी ६५ वर्षीया एक महिलालाई गएराति गजेन्द्रनारायण सिंह अस्पतालबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।
गएको शुक्रबार अस्पताल भर्ना भएकी महिलाको हिजो बेलुकी कोरोना पुष्टि भएको रिपोर्ट आएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रन्जितकुमार झाले जानकारी दिए । योसँगै सप्तरीमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या छ पुगेको छ । मृतकमध्ये ५ जना सप्तरीको सदरमुकाम राजविराजकै छन् भने एक जना रुपनी गाउँपालिकाका हुन् ।