नेपालको ८६ पालिका पूर्ण खोपयुक्त घोषणा हुन बाँकी



Download our app to get more features

काठमाडौं, १३ भदौ । सरकारले खोप कार्यक्रमलाई नियमित गर्नका लागि बजेट निकासा गरेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत रहेको खोप शाखाले कोरोना महामारीको क्रममा खोप कार्यक्रम प्रभावित भएको र नेपालमा कोरोना संक्रमणको दर बढ्दै जाँदा त्यसले खोप कार्यक्रमलाई प्रभावित बनाउन सक्ने भएकाले खोप कार्यक्रमलाई निरन्तरता दिनका लागि बजेट निकासा गरेको हो ।

शाखाका प्रमुख डा झलक गौतमले महामारीको अवधिमा खोप कार्यक्रम सुचारु रहोस् भनेर खोप कार्यकर्ताका लागि मास्क, साबुन, स्यानिटाइजर र पीपीई लगायतका स्वास्थ्य सामग्री खरिदका लागि बजेट निकासा गरिएको जानकारी गराए ।

उनले यसै वर्ष नेपाललाई पूर्ण खोप युक्त देश घोषणा गर्ने लक्ष्य सरकारले लिएको भन्दै नेपालका ८६ वटा पालिकालाई खोप पूर्ण युक्त घोषणा गर्न बाँकी रहेको र त्यसलाई पूर्ण खोपयुक्त घोषणा गर्नमा सरकार लागि परेको बताए ।

बालबालिकालाई यसै वर्षदेखि भिटामिन ‘के’ को सुइ लगाउने तयारी स्वरुप प्रदेश आपूर्ति केन्द्रमार्फत् पठाइसकेको भन्दै उनले सबै खोप केन्द्रमा भिटामिन के खरिद गरि पठाइदिन पनि आग्रह गरे ।

डा गौतमले भिटामिन ‘के’ खोपले बालबालिकालाई हुने चोटपटक, रक्तश्राव जस्ता समस्यलाई रोक्न मद्दत पुगने पनि जानकारी दिए ।

यस्तै नेपालमा २८ दिनभित्र हुने शिशु मृत्युदर नियन्त्रणमा आएको पनि उनले बताए । डा गौतमले पछिल्लो ३ वर्षको अवधिमा नेपालमा २८ दिनभित्र शिशुहरुको मृत्यु हुने दरमा वृद्धि भएको भनेर सञ्चार माध्यमले लेखेको समाचारप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै त्यो गलत भएको बताए ।

उनले २०७४/०७५ मा २८ दिनभित्रका शिशुको मृत्यु संख्या ७ सय १६ रहेको, २०७५/०७६ मा ६ सय ८० जनाको मृत्यु भएको र २०७६/०७७ मा ७ सय १२ जनाको संस्थागत तर्फ मृत्यु भएको बताए ।

डा गौतमले सहि र सत्य समाचार सम्प्रेषणका लागि पनि आग्रह गरे ।     


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts