चितवन मेडिकल कलेजमा एकजना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

चितवन, १३ भदौ ।  चितवन मेडिकल कलेज (सीएमसी)को शिक्षण अस्पतालमा शनिबार बिहान एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
 बाराको निजगढ–७ बस्ने ४७ वर्षकी संक्रमित महिलाको निधन भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

शनिबार बिहान सात बजेर ५३ मिनेट जाँदा ती महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । उनी मिर्गौलासम्बन्धी पीडित रहेको अस्पतालले बताएको छ । 
साउन २६ गते सीएमसीमा भर्ना भएर उनले तीनपटक डायलाइसिस गराएकी थिइन् । श्वासप्रश्वासमा जटिलता देखिएपछि परीक्षण गरेर हेर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकेको अस्पतालको भनाइ छ ।

सीएमसीमा अहिले पनि ४१ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । तीमध्ये १९ जनाको अवस्था गम्भीर र जोखिमपूर्ण रहेको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले बताए ।

सीएसीमै शुक्रबार बिहान मात्रै पनि एकजना संक्रमितको निधन भएको थियो । चितवनमा हिजो मात्रै तीनजना संक्रमितको ज्यान गएको थियो ।

चितवनमा हालसम्म कोरोना भाइरसको संक्रमण देखिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । 

Last modified on 2020-08-29 13:39:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts