कोरोना संक्रमणको दर बढेसँगै स्वास्थ्य मन्त्री ढकालले थाले विभिन्न पक्षसँग छलफल



Download our app to get more features

काठमाडौं, १२ भदौ । नेपालमा कोरोना संक्रमणको दर बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विभिन्न पक्षसँगको छलफललाई तीव्रता दिएका छन् । 

कोरोना रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउने विषयमा मन्त्री ढकालले पछिल्लो समय विभिन्न संघ संस्थाका प्रतिनिधिसँगको छलफललाई तीव्रता दिएका छन् ।

मन्त्री ढकालले शुक्रबार मन्त्रालयमै चिकित्सक संघ, नेपाल स्काउट, उच्च माध्यामिक विद्ययालय संघ (हिसान), नर्सिङ एसोसियसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशालाकर्मी संघ लगायतका संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन् ।

छलफलमा स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमण नियन्त्रण अभियान प्रभावकारी बनाउन सबैको साथ आवश्यक रहेको बताए । उनले विभिन्न संस्थाका प्रतिनिधिहरुबाट महत्वपूर्ण सुझावहरुका आधारमा कोरोना महामारीको चुनौति सामाना गर्न थप सहज हुने बताए ।

मन्त्री ढकालले काम गर्ने क्रममा केही त्यस्ता कमजोरीहरु भएको भएपनि त्यसलाई सुधार गरेर अघि बढ्न सकिने बताए । उनले कार्यविधि वा निर्देशिकाहरुमा पनि त्रुटी रहेको छ भने त्यस्तो विषय सच्याएर अघि बढ्न स्वास्थ्य मन्त्रालय तयार रहेको उल्लेख गरे ।

मन्त्री ढकालले चिकित्स, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउनका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए । 

उनले स्वास्थ्यकर्मीले पाउने भत्ता सुविधाका विषय केही गुनासोका आवाजहरु सुनिएको भन्दै सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगर्ने प्रतिवद्धता जनाए ।

मन्त्री ढकालले यसअघि नै मन्त्रिपरिषद्ले जोखिमको अवस्था हेरी एक सय प्रतिशत, ७५ प्रतिशत र पचास प्रतिशत भत्ता र २५ लाख रुपैयाँको बीमाको व्यवस्था गरिसकेको बताउँदै असार सकिएका कारण नयाँ आर्थिक वर्षमा पहिलेको जस्तो व्यवस्था हुँदैन कि भनेर चिन्ता नगर्न पनि आग्रह गरे ।

स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सबैसँग समन्वय गरेर नै महामारीविरुद्धको लडाईंमा विजय प्राप्त गर्न सकिने भन्दै महामारीको समयमा साझा प्रयत्नले चुनौतिको सामना गर्न सरल हुने बताए ।

उनले समय समयमा प्रतिनिधिमुलक ढंगका यस्ता छलफल जारी राख्ने पनि बताए ।

छलफलमा चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भयो भने महामारीविरुद्धको लडाइँ कठिन हुने बताए । उनले स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल उच्च बनाउनका लागि गर्नुपर्ने कुनै पनि काममा कन्जुस्याइँ गर्न नहुने उल्लेख गरे ।

अध्यक्ष कार्कीले कोभिड १९ पोजेटिभ भएर आइशोलेसनामा रहेका चिकित्सक स्वास्थ्यकर्मीको स्वास्थ्यको विषयमा मन्त्रालयको उच्च नेतृत्वले चासो लिइदिन आग्रह गरे । महामारीविरुद्ध हामी सबै एकै ठाउँमा रहेको भन्दै मन्त्रालयले हामी छौँ भन्ने अनुभुति चिकित्सक र स्वास्थ्यकर्मीको बीचमा गराइदिनुपर्ने बताए ।

कार्कीले ग्रोसरी सपहरु दिनभर खोल्नुपर्ने बताउँदै परिस्थिति थप जटिल बने चिकित्सक संघले सरकारका लागि स्वयंसेवक उपलब्ध गराउनका लागि काम गरिरहेको बताए ।

यस्तै राष्ट्रिय चिकित्साकर्मी संघका अध्यक्ष भक्तिमान सुब्बाले स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने भन्ने महत्वपूर्ण विषय रहेको हुनाले संक्रमित बसेको ठाउँमा दूव्र्यवहार भएको कुरा गलत रहेको बताए । उनले महामारीको विषम परिस्थिलाई समाजले बुझ्नुपर्ने भन्दै  स्वास्थ्यकर्मीले सबै ठाउँमा स्वास्थ्यकर्मी लगायतले जोखिम भत्ता नपाएको विषयमा मन्त्री ढकाललाई सुनाएका थिए । उनले पिपिई अभाव हुनुका साथै ढुक्कसँग काम गर्ने वातावरण बनाउन आग्रह गरे । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts