बन्द जनमैत्री अस्पताल लगायत तीन अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गर्ने निर्णय



Download our app to get more features

काठमाडौं, १२ भदौ । हाल बन्द अवस्थामा रहेको काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पताल सञ्चालनमा आउने भएको छ ।

व्यवस्थापनको कमजोरीका कारण विगत केही वर्षयता बन्द अवस्थामा रहेको अस्पताल पुनः सञ्चालनमा आउने भएको छ । जसअनुसार सरकारले तत्काल कोभिड अस्पतालको रुपमा विकास गर्ने भएको छ ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनमैत्रीसहित तीन अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा सूचीकृत गरेको बताए । जसमा जनमैत्रीसहित काठमाडौँकै कान्तिपुर अस्पताल र वीरगञ्जको नेशनल मेडिकल कलेज टिचिङ अस्पताल रहेका छन् ।

हाल बन्द अवस्थामा रहेको जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गर्न काठमाडौं महानगरपालिका र महानगरपालिकाको वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले पहल गरेका थिए ।

गत साउन २९ मा महानगरपालिकाको तर्फबाट वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले अस्पताल व्यवस्थापनलाई पत्राचार गर्दै अस्पताल सञ्चालन गर्न आग्रह गरेका थिए ।

अस्पताल सञ्चालन गर्न आग्रह गर्दै प्रेषित पत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतलाई पनि बोधार्थ गरिएको थियो । महानगरकै पहल र चासोमा सरकारले कोभिड अस्पतालका रुपमा सूचीकृत गरेको हो ।

अहिले कोभिड अस्पताल हुने र निकट भविष्यमा पूर्णरुपमा अस्पताल सञ्चालनमा आउने रिजालले बताए । अत्याधुनिक भवन र ३०० शैया क्षमता भएको अस्पताल सञ्चालनमा आउने भएसँगै बढ्दो कोरोनाभाइरस जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अध्यक्ष रिजालले विश्वास व्यक्त गरे ।

कुनै बेला राजधानीको चर्चितमध्ये एक अस्पताल जनमैत्री अहिले प्रयोगविहीन अवस्थामा पुग्दै गर्दा फेरि सञ्चालनमा आउने भएको हो ।

Last modified on 2020-08-28 18:12:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts