चितवनमा फेरि एक जना कोरोना संक्रमितकाे मृत्यु

चितवन, १२ भदाै । भरतपुर अस्पतालमा उपचाररत एक जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
अस्पतालकाे सघन उपचार कक्ष (काेभिड आइसीयू)मा उपचाररत गाेरखाका ३८ वर्षीय पुरूषकाे शुक्रवार दिउँसो २ बजेर ३० मिनेटमा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । अस्पतालका अनुसार भदाै ६ गते अस्पताल भर्ना भएका उनकाे भदाै १० गते काेराेना भाइरस संक्रमण पुष्टि भएकाे थियाे ।
उता शुक्रवार नै बिहान हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको चितवन मेडिकल कलेजकाे सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे थियाे । उनी निमोनिया र दमको बिरामी थिए ।
त्यसैगरि उता भरतपुर १० स्थित श्री पुष्पाञ्जली हस्पिटल प्रालिमा उपचाररत एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । चितवनकाे भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका ५१ वर्षीय पुरुषको साेहि अस्पतालकाे सघन उपचार कक्ष (आइसीयू)मा उपचारकै क्रममा शुक्रवार बिहान १० बजे मृत्यु भएकाे अस्पतालले जनाएकाे थियाे । उनीलाई श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएकाे थियाे । अस्पतालका अनुसार उनी लामाे समयदेखि फाेक्साे र दमकाे बिरामी थिए ।
अहिलेसम्म चितवन जिल्ला भित्रका काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या चार पुगेकाे छ । याेसँगै यहाँ उपचारकाे क्रममा जिल्ला बाहिरका पाँच जनाकाे मृत्यु भएकाे छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।