भक्तपुर अस्पतालमा अब कोरोनाको मात्रै उपचार हुने



Download our app to get more features

काठमाडौं, १२ भदौ । काठमाडौं उपत्यकामा कोभिड–१९ का बिरामीको संख्या बढेसँगै भक्तपुर अस्पताललाई पूर्ण रुपमा कोरोनाका बिरामीको उपचार गर्ने अस्पताल बनाइएको छ  । 

बिहीवारबाट अस्पतालमा भएका सबै पूर्वाधार कोरोनाका बिरामीको उपचारमा प्रयोग गर्न थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन् ।

स्वास्थ्य मन्त्रालयले यसअघि सबै अस्पतालमा कोरोनाको उपचार गर्न भनेपछि भक्तपुर अस्पतालले त्यहि अनुसारको सेवा सुरु गरेको छ । हाल अस्पतालमा कोरोनाको  लक्षण नदेखिएका सङ्क्रमितलाई राख्न दस शय्या र लक्षण देखिएका बिरामीलाई राख्न पन्ध्र शय्याको व्यवस्था मिलाइएको उहाँले बताइन् । त्यसबाहेक अब अस्पतालका अन्य ठाउँमा क्रमशः कोरोनाका सङ्क्रमितको उपचारको निम्ति व्यवस्था गर्न लागिएको पनि गौतमले जानकारी दिइन् । 

देशकै पुरानो अस्पतालमध्येको एक भक्तपुर अस्पतालमा अब सघन उपचार कक्ष (आईसीयू) सेवा पनि विस्तार हुने भएको छ । तत्काललाई पाँच वटा आईसीयू शय्या तयारी अवस्थामा रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. गौतमले बताइन् । 

यस्तै अस्पतालले सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँग मिलेर आईसीयू सञ्चालन गर्ने टोलीको तयारी समेत गरेको समेत उनको भनाइ छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts