कोरोना महामारी रोकथाम तथा नियन्त्रणको विषयमा स्काउट र हिसानसँग स्वास्थ्यमन्त्रीको छलफल

काठमाडौं, १२ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणको विषयमा विभिन्न निकायसँग छलफल गरेका छन् ।
उनले नेपाल स्काउट र उच्च माध्यामिक विद्यालय संघ (हिसान) का तर्फबाट हुन सक्ने सहयोगका विषयमा बिहीबार मन्त्रालयमा छलफल गरेका थिए ।
मन्त्री ढकाललले नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारी र संघका अध्यक्ष रमेश सिलवालसँग कोरोना रोकथाम र नियन्त्रणमा खेल्ने सक्ने भूमिकाका बारेमा छलफल गरेका हुन् ।
महामारीमा सबैको समन्वयमा काम गरेमात्र प्रभावकारी परिणाम निस्कने भन्दै मन्त्री ढकालले आवश्यक सहयोगका लागि तयार रहन अनुरोध गरेका थिए ।
छलफलमा महामारीको यस समयमा कलेजका भवन, होस्टल, बसलगायतका स्रोतको सदुपयोग सरकारले गर्ने बारेमा सकारात्मक कुराकानी भएको जनाइएको छ ।
छलफलमा हिसानका अध्यक्ष रमेश सिलवाल र स्काउटका अध्यक्ष भण्डारी दुबैले कोरोना महामारीको यो समयमा सरकारले लिने कुनै पनि कदममा साथ दिन तयार रहेको जानकारी गराएका थिए ।
दुबै जनाले मन्त्रालयले गर्ने प्रस्तावमा मिलेर काम गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।