काठमाडौंका सांसदको सांसद विकास कोषको रकमले आइसोलेसन बनाउने 



Download our app to get more features

काठमाण्डौ, ११ भदौ ।  काठमाडौं जिल्लाबाट प्रतिनिधत्व गर्ने सबै दलका सांसदले सांसद विकास कोषको रकम आइसोलेन सेन्टर निर्माणमा खर्च गर्ने सहमति जनाएका छन्। काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढेसँगै सांसदले पनि आफ्नो सक्रियता बढाएका हुन्।

कांग्रेस सांसद एवं पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानको संयोजनमा बुधबार बसेको काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदको बैठकले संसद विकास कोष र बाँकी विकास बजेट कोरोना नियन्त्रणमा खर्च गर्ने निर्णय गरेका हुन्। 

 बैठकले सांसद विकास कोषको रकम खर्च हुन पाएको छैन, त्यसलाई आइसोलेसन सेन्टर निर्माणमा खर्च गर्ने सहमति भएको छ,’ भेलाको संयोजन गरेका सांसद प्रधानले भने, अरु विकास बजेट पनि खर्च भएको छैन। सांसद प्रधानले काठमाडौं उपत्यकामा तत्काल कम्तिमा पनि १० हजार शैय्याको आइसोलेसन सेन्टर बनाउनुपर्ने बताए । 

अहिले काठमाण्डौको  साङ्ला, थर्मस्थली र टोखामा ठाउँ तोकिए तर अरु ठाउँमा भने आवश्यकता हेरेर हरेक पालिकामा बनाउने उनले बताए । यसको बारेमा रक्षा मन्त्रीसँग पनि छलफल भएको प्रधानले जानकारी दिएका छन् । 

सांसदको भेलाले कोरोना नियन्त्रणमा तीनै तहको सरकारले गर्नुपर्ने कामका बारेमा सुझाव प्रतिवेदन तयार गर्ने र प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको सांसद प्रधानले हाम्रो डाक्टर न्युजसँगको कुराकानीमा बताए ।  ‘कुन तहको सरकारले के काम गर्ने भनेर हामी सांसदकातर्फबाट तीनै तहको सरकारलाई सुझाव दिन्छौं,’ उनले भने, ‘यसले कोरोना नियन्त्रणलाई सघाउ पुग्ने हाम्रो विश्वास छ।’ प्रतिवेदन लेख्नका लागि सांसद प्रधानसहित गगन थापा र विन्दा पाण्डेलाई जिम्मेवारी दिइएको उनले बताए ।   

२०७० सालको संविधान सभा निर्वाचनपछि काठमाडौं उपत्यका लागि कसरी बस्न योग्य बनाउन सकिन्छ भनेर काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदको संस्था गठन गरिएको थियो। त्यतिबेला सांसदले सुझावसहितको खानेपानी, ढलनिकास,यातायात, उर्जा लगाएतका विषयको प्रतिवेदन  तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएका थिए। 

‘अहिले सांसदको भूमिका देखिएन भनेर गुनासो आउन थालेपछि हामीले हाम्रातर्फबाट पनि केही पहल गर्न सकिन्छ भनेर फेरि छलफललाई निरन्तरता दिएका छौं,’ सांसद प्रधानले भने, अब यस्तो खालको बैठक निरन्तर गर्ने र काठमाण्डौ लाइृ साच्चैको काठमाण्डौ बनाउन लागिपर्ने उनले बताए । 
बैठकमा उठेका थप विषय 

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आइसोलेसन सेन्टर निर्माण गर्नुपर्नेमा सांसदहरुको जोड छ।  सरकारले दैनिक २३ हजारको स्वाब परीक्षण क्षमता रहेको दाबी गरेपनि त्यो अनुसार आइसोलेसन सेन्टर छैनन्। 

कोभिड(१९ बाट संक्रमित भएर निको भएका व्यक्तिको रगत संकलनका लागि प्लाज्मा बैंकको व्यवस्था गर्नुपर्ने  सुझाव सांसदको छ। 
कोभिड र नन(कोभिड अस्पताल छुट्याउन पनि उनीहरुले माग गरेका छन्। 

सबैलाई एउटै अस्पतालमा उपचार गर्दा दीर्घरोगी भएका बिरामीलाई कोरोना संक्रमणको संभावना उच्च हुनेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्। 

यस्तै तत्काल अक्सिजन प्लान्ट बनाउनुपर्ने, प्लाज्मा बैंक बनाउनुपर्ने, हवाई एप्सलाई निरन्तरता दिनुपर्ने, भारत र चीनसँगको सहकार्यमा उपचार सामाग्रीको व्यवस्था मिलाउने तथा पेशाबाट बाहिर निस्केका डाक्टर नर्सलाई काममा ल्याएर उपचार सहज बनाउने र महीला तथा युवा समुहलाई जनचेतनाको लागी प्रयोग गर्नुपर्ने लगायतका कुराका छलफल भएको सांसद प्रधानले बताए  ।  

बैठकमा सांसद शशी श्रेष्ठ, विन्दा पाण्डे, गगनकुमार थापा, भीमसेनदास प्रधान, दीव्यमणि राजभण्डारी, रामकुमारी झाक्री, कृष्ण गिरी,कृष्ण बहादुर राई र नारायण केसीको उपस्थितिे थियो।काठमाडौं जिल्ला १९ मध्ये बुधबारको बैठकमा १० सांसदको उपस्थिति रहेको थियो। 

Last modified on 2020-08-27 13:30:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts