गर्भवतीसहित थप सातजनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाण्डौ, ११ भदौ । कोरोना(कोभिड(१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको ज्यान गएको छ। संक्रमणबाट वीरगंजमा चार जना, ललितपुरमा एक जना, पोखरामा एक जना र बुटवलमा एक जनाको ज्यान गएको हो।
वीरगंजमा चार जनाको मृत्यु
पर्साको वीरगंजको दुई वटा अस्पतालमा पछिल्लो १४ घण्टाको अन्तरालमा ४ जनाको मृत्यु भएको छ। मृत्यु भएकामा तीन जना कोभिड(१९ का संक्रमित रहेका छन्। एक जनाको शंकास्पद मृत्यु भएको छ।
बुधवार साँझ ६ बजेर २२ मिनेटदेखि बिहीवार बिहान साढे ८ बजेसम्म चार जनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले बताए । हिजो साँझ ६ बजेर २२ मिनेटमा नारायणी अस्पतालमा धोबिनी गापा–३ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको थियो भने हिजै राति ८ बजे रौतहट, राजदेवी नगरपाकिला मुडवलबाका ८० वर्षीय वृद्धको शंकास्पद मृत्यु भएको थियो। त्यसैगरी, बिहीवार बिहान साढे ६ बजे बारा, हर्दिया ४ की २३ वर्षीया गर्भवती महिला संक्रमितको मृत्यु भएको थियो ।
तीनै जनाको नारायणी अस्पतालमा मृत्यु भएको हो भने एक जना बिहीवार बिहान साढे ८ बजे वीरगंज हेल्थकेयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। वीरगंज १४ बहुअरीका ६२ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. चौरसियाले जानकारी गराए।
चार जनामध्ये पर्साका २, बाराका एक र रौतहटका एक जना रहेका छन्। रौतहटका ८० वर्षीय वृद्धको कोरोना संक्रमितको रिपोर्ट आउन बाँकी रहेको छ भने बाँकी तीन जनामा कोरोना संक्रमण पुष्टि भएर उपचार भइरहेको थियो।
पर्सा, धोबिनीका संक्रमित भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भई भदौ ९ गते उनको रिपोर्ट पोजेटिभ पुष्टि भएका थियो । उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या तथा निमोनियका लक्ष्ण देखिएको थियो भने बाराकी ३३ हप्ताकी गर्भवती महिला संक्रमितमा पनि निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको नारायणी अस्पतालमा चिकित्सक डा.उदयनारायण सिंहले बताए ।
त्यसैगरी, वीरगंज हेल्थकेयरमा मृत्यु भएका ६२ वर्षीय वृद्ध मृगौला पीडित थिए । उनले साउन ३० गते हेल्थकेयर कोभिड अस्पतालमा भर्ना भई उपचार गराउँदै आएका थिए।
रौतहटका शंकास्पद मृत्यु भएका वृद्ध भदै ९ गते नारायणी अस्पतालमा भर्ना भएका थिए। चिकित्सका अनुसार पर्सा, बारा, रौतहटमा मृत्यु हुने घटनालाई विश्लेषण गर्दा निकै भयावह अवस्था सिर्जना हुँदै गएकोले उच्च सतर्कता अपनाउन सर्वसधारणमा अपिल गरेका छन्।
ललितपुर, पोखरा र बुटवलमा एक एक जनाको मृत्यु
त्यसैगरी ललितपुरको पाटन अस्पतालमा उपचाररत एक ६५ वर्षीया कोरोना संक्रमितको पनि मृत्यु भएको छ। उनी भक्तपुर बालकोट निवासी भएको बताइएको छ। आइसीयूमा उपचाररत उनको बिहान मृत्यु भएको हो।
बुटवलको धागो कारखानामा सञ्चालित बुटवल कोरोना विषेश अस्पतालमा पनि एक कोभिड १९ संक्रमितको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्वर २ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो। उनको भदौ ५ गते कोभिड १९ पुष्टि भएको थियो। उनी उच्च रक्तचाप, मधुमेहको बिरामी भएको अस्पतालले जानकारी दिएको छ।
त्यसैगरी पोखरामा पनि एक ३२ वर्षीय महिलाको संक्रमणका कारण मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड १९ केन्द्रको आइसियूमा उपचार भइरहेकी पोखरा महानगरपालिका ११ की ३२ वर्षीय महिलाको मृत्यु भएको हो।
उनको आज बिहान ८ बजे मृत्यु भएको हो। योसँगै कोभिड(१९ बाट मृत्यु हुनेको संख्या १८२ पुगेको छ।