सरकारले तोकेको आईसोलेसन शुल्क भन्दा दोब्बर बढी शुल्क असुल्दै नर्भिक

काठमाडौं, ११ भदौ । नर्भिक अस्पतालले १४ दिनको आइसोलेसन चार्ज डेढदेखि दुई लाखसम्म असुल्ने गरेको छ ।
काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालले कोरोना संक्रमितलाई १४ दिन आइसोलेशनमा राखे वापत एक लाख ५० हजारदेखि २ लाखसम्मको शुल्क निर्धारण गरेर सेवा दिँदै छ ।
अस्पतालले सूचना जारी गर्दै ४० बेडको आइसोलेसन सेन्टर कोरोना संक्रमितका लागि तयार पारेको तथा शुल्क निर्धारण गरेको हो ।
नर्भिकले आइसोलेशनका लागि १४ दिनको बेड चार्ज, डाक्टर चार्ज, पीपीई, २ पटक पिसिआर जाँच, एक्स रे, इसीजी, युएसजी, रगत जाँच तथा मेडिकेशन र मेडिकल सप्लाईका लागि छुट्टै शुल्क लाग्ने बताएको छ ।
जबकी स्वास्थ्य मन्त्रालयले आइसोलेसनमा बस्नेहरुका लागि शुल्क निर्धारण गरिसकेको छ ।
मन्त्रालयले निर्धारण गरेको शुल्कभन्दा दोब्बर बढी शुल्क नर्भिक अस्पतालले तोकेर बिरामीसँग असुल्ने गरेको पाइएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले सरकारले लक्षण नभएका वा सामान्य लक्षण भएकादेखि गम्भीर र जटिल प्रकारका कोरोना संक्रमितलाई अस्पतालको आइसोलेसनमा राख्दा बढीमा दिनको ७ हजारसम्म शुल्क लिन पाउने व्यवस्था गरिएको बताए ।
उनले यदि सरकारले तोकेको शुल्कभन्दा बढी कसैले शुल्क लिएको भए उजुरी गर्न पनि आग्रह गरे ।
सरकारले निर्धारण गरेको आइसोलेसन शुल्क सबै अस्पतालका लागि भएकाले कसैले आवश्यक्ता भन्दा बढी शुल्क लिएको भए उजुरीको आधारमा मात्रै कारबाही हुने उनको भनाइ ।