कोरोना विरुद्धको लडाईंका लागि नेपालमा जनशक्ति अभाव ठूलो चुनौती: डा. जोश



Download our app to get more features

काठमाडौं, १० भदौ । विश्व स्वास्थ्य संगठनले कोरोना महामारी विरुद्धको लडाईंका लागि नेपालमा जनशक्ति अभाव ठूलो चुनौती भएको बताएको छ ।

संगठनका नेपाल प्रतिनिधि डा जोश भ्यान्डेलियरले नेपालमा फैलिदै गएको कोरोना महामारी विरुद्धको लडाईंमा जनशक्ति अभाव ठूलो चुनौती भएको बताए ।

उनले नेपालमा पछिल्लो समय तीव्र गतिमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिन थालेको र उनीहरुमाथि हुने दुर्व्यवहारले महामारी विरुद्धको लडाईंमा समस्या उत्पन्न हुन सक्ने चेतावनी दिए ।

उनले भने, ‘पछिल्लो समय नेपालका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहारले गर्दा उनीहरुको मनोबल कमजोगर भइरहेको छ । त्यति मात्रै होइन कोरोना संक्रमितको उपचारमा खटेरै उनीहरु संक्रमित हुन थालेपछि बिरामीको उपचारमा समेत प्रभाव पर्ने देखिन्छ ।’

स्वास्थ्यकर्मी मात्रै होइन कुनैपनि व्यक्तिले जानीजानी आफू संक्रमित हुन नचाहेको भन्दै डा जोशले कसैमाथि पनि घृणा गर्ने र दुर्व्यवहार गर्नु गलत भएको बताए ।

‘नेपाल जस्तो विकासोन्मुख मुलुकमा जहाँ पहिलेदेखि नै स्वास्थ्य अवस्था कमजोर छ र जहाँ पहिलेदेखि नै बिरामी अनुपातमा डाक्टर नर्स छैन त्यहाँ यस्तो व्यवहार हुँदा झन् चुनौती थपिने छ ।’ उनले भने ।

डा जोशले यदि डाक्टरहरुले नै उपचार गर्न जान छोडेपछि के हुन्छ नेपालको अवस्था त्यसको कल्पना पनि गर्न नसकिने भएकाले कसैले पनि यस्तो व्यवहार नगरिदिन आग्रह गरे ।

संक्रमितको तुलनामा नेपालमा स्वास्थ्यकर्मी मात्रै होइन सबै कुराको अभाव भएकाले सक्दो यो रोग लाग्नबाट जोगिनु नै उचित उपाय रहेको उनको भनाइ छ ।

डा जोशले नेपालमा यदि यसरी नै कोरोना संक्रमण फैलिने हो भने भोलिको दिनमा अवस्था अकल्पनिय बन्ने भएकाले तपाईं हामी सबै सचेत हुनु पर्ने उल्लेख गरे ।

Last modified on 2020-08-26 17:15:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts