भदौ १६ देखि अन्तराष्ट्रिय उडान हुने

काठमाण्डौ,१० भदौ । भदौ १६ गतेदेखि नियमित अन्तराष्ट्रिय उडानका लागि सरकारले एक महिना(सेप्टेम्वर)को उडान तालिका सार्वजनिक गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो चरणमा पीसीआर परीक्षण सम्भव हुने मुलुकमा एक महिना (सेप्टेम्बर)को उडान तालिका जारी गरेको हो । कोरोना महामारी नियन्त्रणका लागि चैत देखि नियमित उडान बन्द थियो ।
तालिका अनुसार सेप्टेम्बरभरि १० वटा विदेशी र दुईटा नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान भर्ने छन् । मन्त्रालयका अनुसार, सेप्टेम्बर १ ९भदौ १६० देखि सेप्टेम्बर ३० ९असोज १४० सम्मको एक महिनामा ६० वटा नियमित उडान हुने भएका छन् भने २७ वटा चार्टर उडान हुने छन् ।
मन्त्रालयले नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरि १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ ।
त्यस्तै, स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगमलाई जापानको नारिता, युएइको दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिएको छ । त्यस्तै अर्को नेपाली एयरलाइन्स हिमालय एयरलायन्सलाई चीनको छोङकुइन, मलेसिया र आबुधाबीका लागि उडानको अनुमति छ ।
त्यसैगरी मन्त्रालयले कोभिड–१९ को जाँच सहज नभएका मुलुकका लागि भने चार्टर्ड उडान हुनेछ । चार्टर उडान माल्दिभ्स, कतार, कुवेत र साउदीका लागि हुनेछन् । यी गन्तव्यबाट नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, कतार एयरवेज, जजिरा एयर, र सलाम एयरले चार्टर उडान गर्नेछन् ।