प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम खारेज गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय

काठमाडौं, १० भदौ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले प्रमाणपत्र तहभन्दा मुनिका (टि–एसएलसी कार्यक्रम र प्रमाणपत्र तह) सबै कार्यक्रम खारेज गरेको छ ।
चिकित्सा शिक्षा ऐनको दफा ४२ मा भएको व्यवस्थालाई कार्यान्यन गर्दै आयोगले प्राविधिक शिक्षा तथा व्यवसायीक तािलम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेको हो ।
आयोगको गत साउन ३० मा बसेको बैठकले ऐनको दफा १५ (४)अनुसार परिषद्ले प्रमाणपत्र तहभन्दा मुनिका कुनै पनि कार्यक्रम यसै शैक्षिक सत्रबाट सञ्चालन नगर्ने नगराउने निर्णय गरेको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले हाम्रो डाक्टर न्यूजलाई बताए ।
उनले आयोगले विश्वविद्यालय, प्रतिष्ठान तथा परिषद र अन्तरगतका शिक्षण संस्थाहरुले प्रमाणपत्र तहका कार्यक्रम यसै शैक्षिक सत्रदेखि सञ्चालन नगर्ने नगराउने र यसअघि भर्ना भएका विद्यार्थीको अध्ययन पुरा गराउन अध्ययन अवधि सकिएको मितिले तीन पटकसम्म परीक्षा लिने व्यावस्था मिलाउनु पर्ने निर्णय गरिएको पनि जानकारी दिए ।
योसँगै अनमी, सिएमए, ल्याब असिस्टेन्ट लगायतका २ सय ३८ विषय पढाउने १ सय ३७ वटा कलेजको सम्बन्धन स्वतः खारेज हुने भएको छ भने सञ्चालमा रहेका यस्ता कार्यक्रमहरुको अध्ययन अवधि पूरा भएपपछि स्वतः फेजआउट हुने भएका छन् ।
उपाध्यक्ष गिरिले त्रिभूवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको पिसिएल नर्सिङ विषयमा पनि यो वर्षदेखि भर्ना लिन नपाउँने र अहिले अध्ययन गरिरहेका विद्यार्थीलाई तीन वर्षभित्र सम्बन्धीत शैक्षिक संस्थाले नै परिक्षा लिने निर्णय भएको बताए ।
यस्तै आयोगले ऐन बमोजिम २०७६÷०७७ का लागि स्नातकोत्तर तहका विभिन्न विषयमा सिट समेत निर्धारण गरेको छ ।
आयोगले एमडि÷एमएसलगायत स्नातकोत्तर तहका विभिन्न विषयका १ हजार ५ सय ६६ सिट तोकेको हो । आयोगले सरकारीतर्फका कलेजका लागि ६ सय ९४ र नीजितर्फका मेडिकल कलेजलाई ८ सय ७२ सिट छुट्याएको छ ।
यस्तै आयोगले ०७६ असोज १ को बैठकको निर्णयअनुसार प्राविधिक शिक्षा तथा व्यवसायीक तािलम परिषद् मा २०६८ चैत ४ भन्दा पहिले नै नर्सिङ विषयमा सम्बन्धनका लागि आवेदन गर्ने कलेजहरुलाई सम्बन्धन दिने पनि निर्णय गरेको छ ।