भीम अस्पताल भैरहवामा उपचाररत एक जना कोरोना संक्रमित बिरामीको मृत्यु

रुपन्देही, ९ भदौ । भैरहवास्थित भीम अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।
रुपन्देहीको गैडहावा ३ का ५० वर्षीय ती पुरुषलाई सोमबार साँझ ५ बजेतिर कोभिड उपचारका लागि भीम अस्पताल भर्ना गरिएको थियो । तर, उनको राती नै मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनलाई भदौ ५ गते कोरोना संक्रमण देखिएको थियो ।
घर बनाउने मिस्त्रीको काम गर्दै आएका उनको छतबाट लडेर टाउकोमा चोट लागेपछि उपचारका लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार जारी थियो । उनको उपचारका लागि कोरोना जाँच गर्दा संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना संक्रमण पुष्टि भएपछि मेडिकल कलेजले उनलाई कोभिड उपचारका लागि भीम अस्पताल पठाएको थियो ।
आईसीयूमा राखेर उपचार गर्नु पर्ने बिरामीलाई अस्पतालले भर्ना नलिएपछि गम्भीर अवस्थामा भीम अस्पताल पुगेका यनको राती १२ बजेतिर मृत्यु भएको हो ।
समयमै भर्ना गरी आईसीयूमा राखेर उपचार गरेको भए भाई बाच्ने मृतका दाजुले बताए ।
पहिलो चरणको ९८ जना कोभिड बिरामीको सफल उपचार गरी घर फर्काएको भीम अस्पतालमा पहिलो पटक कोरोना संक्रमित बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ ।