काठमाडौंमा हैजाको नयाँ जीवाणु फेला 



Download our app to get more features

काठमाडौं, २५ असार । काठमाडौं उपत्यकामा पखालाका बिरामीमा हैजा प्रजातिका नयाँ जीवाणु भेटिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार वैसाखदेखि झाडापखाला लागेर आउने बिरामीको दिशा परीक्षण गर्दा हैजाका नयाँ प्रजातीको जीवाणु भेटिएको हो । 

सन् २००८ मा गरिएको एक अनुसन्धानमा काठमाडौं उपत्यकाको विभिन्न ढलहरुमा भिब्रियो कलेरा प्रजातीका हैजाका जिवाणु देखिएको थियो । नेपालमा पहिला नै ढलमा देखिएता पनि मानिसमा भने देखिएको थिएन । 

‘बिरामीको दिशा नमुना जाँच गर्दा नयाँ प्रजातीको भिब्रियो कलेरा प्रजातीको हैजा भेटिएको हो ।’ अस्पतालका डा. शेरबहादुर पुनले भने, ‘नेपालमा पहिला नै ढलमा देखिएको थियो तर मानिसमा भने पहिलो पटक भेटिएको हो ।’ 

मानिसमा यो प्रजातीको हैजा भएपनि प्रमाणित भने भएको थिएन । पखाला लाग्दा सामान्यतया दिशाको नमुना जाँच नगर्ने हुँदा पनि मानिसमा नदेखिएको हुन सक्ने चिकित्सकहरु बताउँछन् । वैशाखदेखि टेकु अस्पतालमा पखाला लागेर आएका बिरामीमा दिशाको नमुना जाँच गर्दा करिब डेढ दर्जन बिरामीमा नयाँ प्रजातीको जीवाणु भेटिएको डा. पुनले बताए । वैशाखदेखि नै बिरामीमा देखिएपनि यसले प्रकोप भने नपारेको डा. पुनले हाम्रो डक्टरलाई बताए । 

सामान्यतया यस्तो जीवाणु पाइएका बिरामीमा पानी जस्तो पातलो दिशा आउने, वान्ता हुने, पेट बाउँडिने र ७२ घण्टापछि निको भएर जाने डा. पुनले बताए । पखाला लाग्दा घरमै औषधि खाने र नजिकको अस्पताल जाने हुँदा यस्ता बिरामीको यकिन भने हुन सकेको छैन । हैजाकै जस्तो लक्षण हुने हुँदा लक्षणको आधारमा बिरामीलाई औषधि दिने चिकित्सकहरु बताउँछ । 

‘धेरै बिरामी नजिकको अस्पताल जान्छन्, पखलाकै औषधि दिएर पठाइन्छ ।’ डा. पुन भने ‘तर दिशाको नमुना जाँच नगरिने हुँदा अन्यत्र पनि यस्ता बिरामी हुन सक्छन् ।’ 

सन् २०१० मा हाइटीमा फैलिएको हैजामा पनि यहि प्रजातीको जीवाणु २१ प्रतिशतमा भेटिएको थियो । जसका कारण धेरै मानिसले ज्यान गुमाउनु परेको डा. पुनले बताए । 
बिरामीमा देखिएको नयाँ जिवाणुको विषयमा अस्पतालमा आउने सबै बिरामीको दिशा नमुना जाँच गरी अनुसन्धान भइरहेको छ । मनसुन सुरु भएयता दैनिक औषतमा ८ देखि १० जना पखालाका बिरामी आउने गरेको टेकु अस्पतालले बताएको छ । 

मनसुन सुरु भएसँगै पानीमा ढलको फोहर मिसिन पुग्दा यो जिवाणु मानिसमा सरेको हुन सक्ने चिकित्सकरुहको अनुमान छ ।  त्यसैले यसबाट बच्नका लागि उमालेको पानी पिउने, बाहिरको फोहर खाना नखाने, राम्रोसँग पकाएको खाना मात्र खान डा. पुनको सल्लाह छ । 


 

Last modified on 2016-07-09 16:31:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts