एक जना चिकित्सकको भागमा २३ हजार नागरिकको उपचार

काठमाण्डौं,९ भदौ । कोरोना महामारीका समयमा चिकित्सक कम हुँदा सेवा प्रवाहमा ठुलो समस्या भएको छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा न्यून मात्रै चिकित्सक कार्यरत छन् । अझ यो सरकारी सेवामा करिब १३ सयको संख्यामा चिकित्सक कार्यरत रहेका छन् ।
यो संख्यामध्ये ३ सय बढी चिकित्सक कोरोनाबाट संक्रमित भएका छन् भने २ सय बढी क्वारेन्टाइनमा रहेको सरकारी तथ्यांक छ ।
देशभर ३ हजार ५ सय ७ वटा सरकारी स्वास्थ्य संस्था छन् । ती स्वास्थ्य संस्थामा हाल करिब १३ सय मात्रै चिकित्सक कार्यरत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसमा पनि कतिपय सेवा अवधि सकिएर विदामा छन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रति दश हजार जनसंख्यामा ३ जना चिकित्सकसहित २३ स्वास्थ्यकर्मी चाहिन्छ ।
तर यो मापदण्डलाई आधार मान्दा एक चिकित्सकको भागमा ३ हजार जनसंख्या आवश्यक पर्छ । वि.सं. २०६८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । तर, अहिले ३ करोड बढी जनसंखया भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
यो जनसंख्याअनुसार हाल एक चिकित्सकको भागमा २३ हजार बढी जनता पर्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १६ सय ५० चिकित्सकको दरबन्दी रहेको छ । तर, उपलब्ध भने १३ सयको संख्यामा मात्रै रहेको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाले जनाएको छ ।
अभाव भएका चिकित्सकमा ८ औं तहदेखि १२ औं तहसम्मका छन् । देशभरका सरकारी अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको अभाव छ । सरकारले हरेक अस्पतालमा विशेषज्ञ चिकित्सक पुर्याउने लक्ष्य लिए पनि करिब चार सयभन्दा बढी विशेषज्ञ चिकित्सकको अभाव देखिएको छ । जसले गर्दा आउने दिनमा उपचारको लागी झनै समस्या हुने देखिन्छ ।