काठमाण्डौमा १५ हजार सङ्क्रमित हुन सक्ने अनुमान

काठमाण्डौ, ८ भदौ । उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको छ । सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो ।
उपत्यकामा समुदायस्तरमै कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
‘स्वास्थ्य मन्त्रालयको टिमसहित मङ्गलबारदेखि नै उपत्यकाका १८ वटै पालिकामा तालिका बनाएरै कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको कार्य अघि बढाउछौँ’, उनले भने । ‘हामी उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङको दायरामा परेका नागरिकको टेस्टिङ गर्छौँ । यसमा स्वास्थ्य मन्त्रालयका अनुभवी टिम पनि हाम्रो साथमा रहने छ ।’
शाक्यले अहिलेसम्म उपत्यकाका १८ वटै पालिकाको तथ्याङ्कअनुसार २७ सय ४६ जना सङ्क्रमित भेटिएको भन्दै त्यसका आधारमा झण्डै २८ हजार पाँच सयको कन्ट्राक्ट ट्रेसिङ गर्नुपर्ने हुन सक्ने बताए ।
ढिलोमा १५ गतेसम्ममा ती सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने पनि जानकारी शाक्यले दिए ।
उपत्यकाका पालिका तहबाट प्रवाहित हुँदै आएका सेवामध्ये अत्याश्यक बाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा पुनः भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेका छौँ’, उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । ‘स्वास्थ्य मन्त्रालयले १८ वटा पालिकालाई मङ्गलबारदेखि नै १८ जना फोकल पर्सन तोक्ने प्रतिबद्धता व्यक्त गरेको छ’, उनले भने ।
बैठकमा सहभागी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सल्लाहकार डाक्टर खेम कार्कीले कोरोनाविरुद्धको युद्धमा एक जुट नहुने हो भने कोरोनाले जित्ने बताएकाछन् । ‘काठमाण्डौभित्र कम्तीमा १५ हजार सङ्क्रमित रहेको हुन सक्ने अनुमान छ’, ‘हामीले त्यो चेन तोड्न सकेनौँ भने अवस्था भयावह हुन सक्छ, उनले भने ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले नेपालले महामारी पहिलो पटक भोगेको भन्दै कन्ट्याक्ट ट्रेसिङ गर्ने, परीक्षण गर्ने आइसोलेट गर्ने उपचार गर्ने विधिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
स्वाथ्य विभागका महानिर्देशक दिपेन्द्र रमण सिंहले आवश्यक जनशक्ति व्यवस्थापनमा विभाग तयार रहेको बताए । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले पछिल्लो समय सङ्क्रमित बढेको भन्दै त्यसले उपत्यकामा सङ्क्रमित धेरै छन् भन्ने प्रमाणित गरेको जानकारी दिए ।‘अहिलेको आवश्यकता भनेको समुदायमा जान सक्ने खतरालाई रोक्ने नै हो’, उनले भने, ‘हामी सहजीकरण गर्न तयार छौँ, तपाईँहरु काम गर्नुहोस् ।’
स्वास्थ्य सेवा विभागका डाक्टर अमित पोख्रेलले कन्ट्याक्ट ट्रेसिङबाट चेन ब्रेक गर्न सके ८५ प्रतिशत सुरक्षित हुने बताए ।
त्यसैगरी बैठकले उपत्यकाका पालिकाबाट प्रवाहित हुँदै आएका सेवामध्ये अत्याश्यक बाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा फेरि भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ ।
बैठकमा उपस्थित मेयरहरुले एकीकृत आइसोलेशन निर्माण गर्ने, डेलिकेटेट एम्बुलेन्सको व्यवस्था हुनुपर्ने, स्वास्थ्य मन्त्रालयले छिटो सूचना दिनुपर्ने जस्ता माग राखेकाछन ।