सरकारले खारेज गर्यो कोभिडका लेभल अस्पताल, अब सबै बिरामीको उपचार गर्नुपर्ने

काठमाडौं, ८ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितका लागि छुट्याएको तीन लेभलका अस्पताल खारेज गरेको छ ।
मन्त्रालयले कोरोना संक्रमित भएकाहरुका लागि व्यवस्था गरेको लेभल १, २ र ३ को कोभिड अस्पताल खारेज गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रीस्तरीय बैठकले सबै अस्पताललाई कोभिड अस्पताल नामकरण गर्ने र लेभल १,२ र ३ भनी गरेको वर्गीकरण खारेज गर्ने निर्णय गरिएको बताए ।
मन्त्रालयको नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा प्रवक्ता गौतमले लेभल अस्पतालको व्यवस्थाले बिरामीहरुले समयमै उपचार नपाएको र कोभिड बाहेकका बिरामीको उपचार नगर्ने भनेपछि यस्तो निर्णय गरिएको बताए ।
उनले मन्त्रालयले कोभिड उपचारका लागि यसअघि सूचीकृत गरेका सबै अस्पताललाई कोभिड अस्पताल भनेर नामकरण गर्ने र ती अस्पतालमा कोभिड र नन कोभिडको उपचारका लागि छुट्टाछुट्टै व्यवस्था गर्न निर्देशन दिइएको बताए ।
लेभल खारेज भएर अब सूचीकृत भएका सबै अस्पताल एकै लेभलका अस्पताल भएको र ती अस्पताललाई कोभिड अस्पताल नामकरण गरिएको डा गौतमले उल्लेख गरे ।