डडेल्धुरा प्रयोगशालामा २४ घन्टामा हालसम्मकै धेरै नमूना परीक्षण



Download our app to get more features

डडेल्धुरा, ८ भदौ । डडेल्धुरा प्रयोशालामा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै नमूना परीक्षण गरिएको छ ।

प्रयोगशालाका अनुसार पछिल्लो २४ घन्टामा एक हजार एक सय ६ जनाको कोरोना परीक्षण पिसिआर विधिबाट गरिएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी कोरोना परीक्षण भएको तथ्यांक हो ।

जनस्तरबाट जडान गरिएको डडेल्धुरा अस्पतालको प्रयोगशालामा स्थापना भएदेखि उक्त पिसिआर मेसिनबाट सोमबारसम्म १० हजार नमुना परीक्षण गरिएको छ ।

डडेल्धुरामा ७ पहाडी जिल्लाको नमूना परिक्षण भइरहेको अस्पताल प्रयोगशाला इन्चार्ज इश्वरीप्रसाद भूषालले बताए । ‘हामी दिनरात भोकतिर्खा नभनी काममा खटिएका छौं’ उनले भने, ‘देश र जनताको लागि सानो सहयोग गर्न पाएकोमा हामी खुसी छौं र यो वातावरण मिलाउनु हुने सम्पुर्णमा धन्यवाद ।’  

पछिल्लो समय सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा नमूनाको चाङ लागेपछि परीक्षणका लागि डडेल्धुरा अस्पतालमा पठाइने गरिएको छ । शनिबार मात्रै एक हजार ८ सय बढी नमूना डडेल्धुरा अस्पतालमा पठाइएको थियो । 

सोमबार २४ घण्टामा एक हजार एक सय ६ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशाला इन्चार्ज इश्वरीप्रसाद भूषालका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, टीकापुर नगरपालिकाका ८ जना, गौरीगंगा नगरपालिकाका ७ जना र जानकी गाउँपालिकाका एक जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, कञ्चनपुरकै महाकाली नगरपालिकाका एक जना र बैतडीको नेपाली सेना गणका एक जनामा कोरोना पुष्टि भएको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ४ सय ६३ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts