काठमाण्डौमा ९ सय ५० आइसोलेसन बेड तयार पारिदै

काठमाण्डौै, ८ भदौ । विदेशबाट आएका नागरिकलाई राख्न सरकारले काठमाडौं उपत्यकामा ९ सय ५० बेडको आइसोलेसन वार्ड तयार गर्ने भएको छ। यसका लागि तीन स्थानलाई पहिचान गरी एकीकृत क्वारेन्टिन निर्माण समितिले काम थालेको हो।
गृह मन्त्रालयमा आइतबार बसेको बैठकले सामाखुसीको राधास्वामी भवनमा ५ सय बेड, कीर्तिपुरमा ३ सय बेड, ललितपुरको स्टाफ कलेजमा एक सय बेड र भक्तपुरको चाँगुनारायण नगरपालिका तेलकोटमा ५० बेड क्षमताको आइसोलेसन तयार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए।
यसअघि पनि गृह मन्त्रालयले संक्रमण फैलिएको जिल्लाबाट अर्को जिल्लामा जाँदा क्वारेन्टिनमा बस्नुपर्ने र विदेशबाट आएका नागरिकलाई पनि क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो।
मन्त्रिपरिषद् बैठकले समितिलाई दिएको निर्देशनअनुसार विदेशबाट आएका श्रमिक क्वारेन्टिनमा बस्दा लाग्ने खाना खर्च वैदेशिक रोजगार कल्याणकारी कोषले बेहोर्नेछ।
प्रधानमन्त्री कार्यालयले सबै जिल्लामा आइसोलेसन बेड व्यवस्था गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो। जिल्ला प्रशासन कार्यालयमार्फत सबै जिल्लामा आइसोलेसन बेड तयार गर्न, क्वारेन्टिन बनाउन, निषेधाज्ञा प्रभावकारी बनाउन निर्देशन आएपछि ७७ वटै जिल्लामा तयारी तीव्र भएको गृह मन्त्रालयले जनाएको छ।