स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई स्थानीय प्रशासनले कारवाही गर्दै

काठमाण्डौं, ७ भदौ । स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही हुने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले चितवनमा डाक्टरको घरमा कालो ब्यानर राख्ने र काठमाण्डौमा सिभिल अस्पतालका डाक्टर बस्ने घरबाहिर हुलदङ्गा गर्नेहरुलाई कारबाही गर्न प्रशासनलाई सिफारिस गरिएको जानकारी दिए ।
उनले दिनरात नभनी काम गरिरहेका स्वास्थ्यकर्मीलाई सम्मान गर्नुपर्ने ठाउँमा दुर्व्यवहार सह्य नहुने बताए ।
महामारीका बेला दिनरात नभनी बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न गृहमन्त्रालय मार्फत स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको बताए ।
प्रवक्ता गौतमले स्थानीय प्रशासनले पनि कारवाहीका लागि कदम अघि बढाईसकेको समेत दावी गरे ।
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुने क्रम बढेसँगै विभिन्न पार्टीदेखि जनस्तरबाट पनि कारबाहीको माग उठेको छ ।
यस्तै, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी कोरोना सङ्क्रमण बढेसँगै स्वास्थ्यकर्मीमा मानसिक तनाव बढेको बताए ।
शिक्षित व्यक्तिको बाहुल्यता र सम्पन्न शहर काठमाण्डौ उपत्यकामा नै यस्तो समस्या बढिरहेको उनले बताए । भाडामा बस्नेलाई मात्रै होइन, अहिले आफ्नै घरमा पनि स्वास्थ्यकर्मीले बास पाउन मुश्किल छ । भाडा बसेकालाई घरबेटीले ताला लगाइदिने, घरै भएकालाई परिवारका सदस्य र आफन्तले काम छोड्न दबाब दिने जस्ता मानसिक समस्या स्वास्थ्यकर्मीले झेल्नु परेको छ ।
भोक र तिर्खा नभनी डाइपर लगाएर बिरामीको सेवामा खटिइरहेको बेलामा उनीहरुलाई सघाउनु सबैको कर्तव्य भएको मन्त्रालयले जनाएको छ ।