चितवनमा अब काेराेना संक्रमितलाई आइसोलेशनमै प्राकृतिक उपचार

चितवन, ७ भदाै । चितवनमा अब काेराेना संक्रमितलाई आइसोलेशनमै प्राकृतिक उपचार समेत गरिने भएकाे छ ।
लक्षण विहीन तथा कम लक्षण भएका काेराेना संक्रमितलाई अब प्राकृतिक अस्पतालमा राखेर उपचार गरिन लागिएकाे जिल्ला स्तरीय कोभिड–१९ प्राविधिक समितिका संयाेजक एवम् भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । त्यसकाे लागि भरतपुर महानगरपालिका–१ स्थित वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयलाई अहिले सय वेडकाे अस्पताल बनाउन लागिएकाे छ । संक्रमित बढ्दै गएमा आवश्यकता अनुसार यसलाई विस्तार गरिने उनले बताए ।
संक्रमितहरूलाई आइसोलेशनमै योग तथा प्राकृतिक उपचार गरिने प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर डा. हेमराज कोइरालाले बताए । अहिले निर्माणकाे काम तीव्ररूपमा भइरहेकाे उनले जनाए । उनका अनुसार अहिले ३० देखि ३६ वटा काेठामा सय शय्याकाे आइसाेलेसन कक्ष तयार हुँदैछ । प्रत्येक काेठामा छुट्टा–छुट्टै शाैचालय तथा नुहाउने ठाउँकाे व्यवस्था गरिएकाे छ । भरतपुर महानगरपालिका र भरतपुर अस्पतालले शय्या तथा अन्य आवश्यक सहयोग गरेकाे छ । केही दिनमै सञ्चालनमा आउने उनले बताए ।
भरतपुर अस्पतालमा कोरोना संक्रमितका लागि उपचार गर्न छुट्टाइएको ७५ शय्या भरिएकाे झन्डै एक सातापछि सराेकारवालाले यहाँ काेराेना संक्रमितकाे उपचार गर्ने निर्णय गरेकाे हाे ।
डा. कोइरालाका अनुसार आजसम्म आधुनिक चिकित्सा विज्ञानले यो रोगको कुनै खास औषधि बनाइसकेको छैन भने परम्परागत चिकित्सामा पनि यस रोगको कुनै उपचार छैन । तर योग, प्राकृतिक चिकित्सा, आयुर्वेद, जडीबुटी चिकित्सा र हाम्रा मौलिक रैथाने चिकित्सा पद्धतिहरूमा यस रोगलाई नियन्त्रण गर्ने धेरै विधि र विधानहरू छन् ।
यिनै विधिविधानहरू मध्येको एउटा विधि जलनेती पनि हो । युरोपमा कोरोना भाइरसको महामारी अनियन्त्रित रूपमा फैलिन थालेपश्चात योग विज्ञानमा परापूर्वकालदेखि प्रयोग भइरहेको जलनेतीको प्रयोग गर्न थालिएको छ । हालै मात्र रोयल इन्फर्मरी अफ इडिनबर्गका बेलायती चिकित्सक डा. सन्दीप रामलिङ्गम र साथीहरूले गरेको अनुसन्धानले दर्शाए अनुरूप जलनेती र नुनपानीको गलाला(गार्गलिङ्ग)गर्ने गर्दा कोभिड–१९ ले सताउने समय आधै कम भएको अनुसन्धानले देखाएको छ । यसै अनुसन्धानमा कोरोनाका कारणले उत्पन्न नाक थुनिने, घाँटी दुख्ने, खोकीलाग्ने, छातीमा कफ भरिने, स्वर खासिने, टाउको दुख्ने, घाँटी खसखसाउने, हाच्छ्युँ आउने, नाकबग्ने र जिउ दुख्ने-थाक्ने जस्ता लक्षणहरूको निवारणमा पनि जलनेती र गलालाको प्रयोगले मनग्य फाइदा पु¥याएको उनले बताए ।
जलनेती योग विज्ञानमा, माथिल्लो श्वास मार्ग सफागर्नका लागि विकसित गराइएको प्राचीनशोधन पद्धति हो । यस पद्धतिमा हल्का नुनिलो पानी एउटा नाकको प्वालबाट पठाएर अर्को नाकको प्वालबाट निकालेर श्वासमार्गलाई पखालिने उनले जनाए ।
डा. कोइरालाका अनुसार जलनेती गर्नका लागि जलनेती पात्रको आवश्यकता पर्दछ । जलनेती पात्र भनेको हामीले पानी पिउनको लागि प्रयोग गर्ने टुटीदार करूवा आकारको भाँडो हो । रूघा, खोकी, मर्की, नाकको एलर्जी, जीर्ण पिनास, गन्ध ग्रहणमा कमीजस्ता समस्यामा यसले अत्यन्त लाभ पु¥याउँछ । जलनेती र गलाको गलाला अब कोरोना भाइरस रोगमा पनि अत्यन्त उपयोगी सावित भइसकेको छ । ‘यसर्थ कोरोनाको अन्य उपचार पद्धतिहरूसँगै यस उपचारलाई पनि अगाडि बढाउन सकिन्छ’ उनले भने ।
‘बिरामीको शरीरको हरेक काेषलाई भाइरसविरुद्ध लड्न सक्ने बनाउँछौं।’ उनले भने ‘जसकाे लागि बिरामीलाई ८ घण्टा खाना दिन्छाैं बाँकी १६ घण्टासम्म भोकै राख्छौं ।’ प्राकृतिक चिकित्साका विभिन्न प्रक्रियाबाट शरीरमा रहेका विशाक्त पदार्थ हटाइ स्वस्थ रहन सहयोग गर्ने उनले बताए ।
‘काेराेनाले बिरामीकाे मानसिक अवस्थामा पर्ने नकारात्मक असर कम गर्न उनीहरूलाई योगा तथा मेडिटेशन पनि गराइनेछ ।’ उनले भने– ‘सन्तुलित तथा प्राकृतिक खाना समेत खुवाइन्छ ।’ जसले काेराेना संक्रमणबाट छिटो मुक्तहुन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।