नेपाल कोरोना अपडेटः पछिल्लो २४ घन्टामा के के भयो ?

काठमाडौं, ७ भदौ । नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार नाजिक पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको बताए ।
पछिल्लो २४ घन्टामा २ सय ८१ जना स्वस्थ भएको र हालसम्म नेपालमा कोरोना संक्रमणपछि निकोे हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको पनि उनले बताए ।
डा गौतमका अनुसार हाल नेपालभर १३ हजार १ सय ५५ जना सकृय संक्रमित रहेका छन् भने ३ हजार ९ सय ४३ जना होम आइशोलेशनमा रहेका छन् । यसैगरी ९ हजार २ सय १२ जना संस्थागत आइशोलेशनमा रहेका छन् ।
डा गौतमले नपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५८ प्रतिशत रहेको भन्दै हालसम्म नेपालमा ६ लाख ४ सय ४४ पिसिआर परीक्षण गरिएको जानकारी दिए ।
पछिल्लो २४ घन्टामा नेपालका विभिन्न ३९ वटा प्रयोगशालामा ८ हजार २६ पिसिआर परीक्षण गरिएको छ । यस्तै हाल नेपालमा ११ हजार ४ सय १४ जना क्वारेन्टाइनमा रहेका छन् ।
यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका ५८ वर्षका एक पुरुष, पर्साका ५६ वर्षका एक पुरुष र सर्लाहीका ३३ वर्षका एक पुरुष रहेका छन् ।
नेपालमा योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ । नेपालमा भएका कोरोना संक्रमितको संख्या अनुसार मृत्यु हुने दर शून्य दशमलव ४७ प्रतिशत रहेको छ ।
यस्तै ५ सयभन्दा बढी संक्रमित रहेको जिल्लामा मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौं छन् भने हालसम्म तीन जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । जसमा मुस्ताङ, म्याग्दी र हुम्ला रहेका छन् ।