देशभर रगतको अभाव

काठमाण्डौं, ७ भदौ । कोरोना संक्रमणका कारण देशभर रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
कोरोना भाइरस जोखिम बढ्दै गएपछि सरकारी तवरबाट भएको निषेधाज्ञाका कारण आवतजावतमा कठिनाइ हुँदा रगत संकलन हुन नसकेको हो ।
देशभर ७३ वटा ब्लड बैंक भए पनि अहिले रगत संकलन हुन नसक्दा अभाव बढेको देखिन्छ । केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा थोरै मात्रामा रगत मौज्दात रहेको भन्दै रेडक्रसले रक्तदानका लागि अनुरोधसमेत गरेको छ ।
केन्द्रीय रक्तसञ्चार सेवाकाअनुसार दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक शल्यक्रिया गर्नुपर्ने विरामीहरुका आफन्तहरु केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको जनाएको छ ।
काठमाण्डौमा मात्रै नभएर मुख्य शहरमा धरान, विराटनगर, चितवनलगायत स्थानमा पनि रगत देखिएको छ ।
रगतको माग भइरहेकाले रक्तदाता, संघसंस्था र रेडक्रसका निकायहरुले सानो समूहमा भए पनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न सके रगत आपूर्ति सहज हुने रेडक्रसले जनाएको छ ।
सुरक्षित तवरले रक्तदान गर्दा वा गराउँदा कोभिड–१९ को जोखिम नरहने विश्व स्वास्थ्य संगठनले नै स्पष्ट पारिसकेको छ ।