चितवनमा उपचारकाे क्रममा मृत्यु भएका हेटौंडाका दुई जनामा काेराेना संक्रमण पुष्टि

चितवन, ७ भदाै । चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर १० स्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचारको क्रममा ती दुई जनाकाे मृत्यु भएको थियो । भदाै ३ गते अस्पताल भर्ना भएका मकवानपुर जिल्लाकाे हेटौंडा उपमहानगरपालिका ४ का ५६ वर्षीय पुरूषकाे भदाै ४ गते राति मृत्यु भएकाे थियाे । उनमा निमोनियासँगै स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।
त्यसैगरि हेटौंडा उपमहानगरपालिका ३ की ६५ वर्षीया महिलाकाे उपचारकाे क्रममा शनिवार साँझ मृत्यु भएकाे छ । कलेजो सम्बन्धि उपचारका लागि ती महिला साउन ३२ गते अस्पताल भर्ना भएकी थिईन ।
भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गर्दा शनिवार उनीहरूकाे रिपोर्ट पोजेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पाैडेलले जानकारी दिए । दुवै जनाकाे मृत्युपछि काेराेना पुष्टि भएकाे हाे ।
यसअघि चितवनमा कोरोना संक्रमित भरतपुर महानगरपालिका-११ का ६८ वर्षीय वृद्वकाे जेठ २७ गते बिहान ७ बजेर ५ मिनेटमा भरतपुर अस्पतालको आईसीयूमा उपचारकाे क्रममा निधन भएको थियाे ।
त्यस्तै चितवनकाे खैरहनी नगरपालिका ३ की काेराेना संक्रमित १ सय ८ वर्षीया वृद्वाकाे भदाै २ गते घरमा नै मृत्यु भएकाे थियाे । फोक्सोको टिबीलगाएका विभिन्न स्वास्थ्य समस्या रहेका रत्ननगर नगरपालिका वडा नं. १३ निवासी ६५ वर्षीय वृद्वकाे भदाै ४ गते भरतपुर अस्पतालको आईसीयूमा उपचारकाे क्रममा मृत्यु भएकाे थियाे ।
त्यस्तै, ६/७ महिना अघि देखि फोक्सोको क्यान्सर भएका कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको पनि भरतपुर अस्पतालको आईसीयूमै उपचारको क्रममा असार १३ गते शनिवार बिहान ७ बजे मृत्यु भएको थियाे ।
यसरी अहिलेसम्म चितवन जिल्ला भित्रका तिन जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । त्यस्तै यहाँ उपचारका क्रममा जिल्ला बाहिरका तीन जना संक्रमितकाे मृत्यु भएकाे छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।