बुटवलकी कोरोना सङ्क्रमित गर्भवतीले शल्यक्रियाबाट जन्माईन छोरी

रुपन्देही, ६ भदौ । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया कोरोना संक्रमित गर्भवती महिलाले शल्यक्रियाबाट छोरी जन्माएकी छिन् ।
कोरोना सङ्क्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना नलिएपछि उनको कोहलपुर अस्पतालमा शल्यक्रिया गरिएको हो ।
कोहलपुर मेडिकल कलेजका स्त्री रोग विशेषज्ञ सहितको टोलीले उनको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।
सङ्क्रमित महिलालाई शुक्रवार राति एक्कासी पेट दुखेपछि नेपालगञ्जस्थित आइसोलेशनबाट अस्पताल लगिएको थियो । आइसोशनमा राखेर निगरानीमा रहेकी उनको शनिवार बिहान ९ः३० बजे शल्यक्रिया गरिएको हो ।
शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्यावस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी बताए । अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक छ ।
भोलि कोरोना परीक्षण गर्छौँ त्यसपछि मात्रै बच्चामा कोरोना भइरस सङ्क्रमण भए नभएको थाहा हुने श्रेष्ठले भने । गत आइतबार एक्कासी पेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुगेपनि उनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकले उपचारका लागि काठमाडौँ वा नेपालगञ्ज जान सुझाएका थिए ।
पहिलो सन्तान जन्माउन नसकेर शल्यक्रिया गरिएका कारण दोस्रो सन्तानका लागि पनि शल्यक्रिया नै गर्नुपर्ने भन्दै प्रदेशिक अस्पतालले छिटो विधिबाट पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । गर्भवतीका श्रीमान पनि कोरोना पोजेटिभ भएका कारण आइसोलेशनमै छन् ।
प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले कोभिड–१९ सङक्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि भीम अस्पताल भैरहवामा व्यवस्था मिलाइएको जनाए पनि अहिलेसम्म शल्यक्रिया नभएको अस्पतालले स्पष्ट पारेको छ ।
कोहलपुर मेडिकल कलेजमा उनीसंगै ४ जना कोरोना संक्रमितको शल्यक्रिया गरेको जनाएको छ ।