पिसिआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने सरकारको निर्णय
यस्तो छ मन्त्रीपरिषदको निर्णय

काठमाडौं, ६ भदौ । सरकारले लक्षण भएका कोरोना भाइरस सङ्क्रमितलाई मात्रै कोभिड–१९ उपचारका लागि तोकिएको अस्पतालमा राख्ने निर्णय गरेको छ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दर बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले लक्षण भएकाहरुलाई मात्रै अस्पतालमा भर्ना गर्ने निर्णय गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले लक्षण नभएका सङ्क्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने निर्णय गरिएको जानकारी दिए । यसका लागि काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन सेन्टर बनाउने सरकारको निर्णय समेत गरिएको उनले बताए ।
लक्षण नभएका तथा सामान्य लक्षण भएकाहरु होम आइसोलेसनमा बस्न सक्ने अवस्था भए त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेको निकायले अनुमति दिनुपर्ने र त्यसको अनुगमन भने स्थानीय तहले गर्नेछन् । यस्तै प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरुलाई पनि जोखिमको मूल्याङ्कन गरेर आइसोलेसन सेन्टरहरु बनाउन भनिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचारका लागि निजी अस्पताल, मेडिकल कलेज वा प्रतिष्ठानले कोभिड अस्पताल बनाउन सक्ने निर्णय भएको डा. खतिवडाले बताए । उनले सरकारको निर्णय अटेरी गर्नेलाई कारबाही समेत गर्ने निर्णय भएको पनि उल्लेख गरे ।
यस्तै सरकारले कोरोना भाइरस नियन्त्रण र उपचारमा गत पाँच महिनाको अवधिमा १३ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको जनाएको छ । औषधि र स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टाइन व्यवस्थापनजस्ता काममा यो रकम खर्च भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. खतिवडाले गराए ।
उनले संघीय सरकारबाट ५ अर्ब ८४ करोड ७९ लाख ९४ हजार रुपैयाँ खर्च भएको भन्दै खर्चका हिसाबले स्वास्थ्य पूर्वाधारमा २ अर्ब ९३ करोड ८८ लाख ९६ हजार र औषधि तथा स्वास्थ्य सामाग्रीमा १ अर्ब ७५ करोड ५२ लाख ४० हजार रुपैयाँ खर्च भएको बताए ।
यस्तै एक अर्ब ३ करोड ६९ लाख ९६ हजार कोभिड कोषबाट खर्च भएको छ । मन्त्री खतिवडाले प्रदेश सरकारहरुबाट एक अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको पनि जानकारी दिए । कोभिड नियन्त्रणमा स्थानीय तहहरुबाट ६ अर्ब २ करोड खर्च भएको छ ।
यसैगरी, सरकारले पिसिआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता डा. खतिवडाले दैनिक ५ सय यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउने जानकारी दिए । उनले उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्ने र उनीहरुको ७२ घण्टाभित्र पिसिआर टेष्ट गर्दा कोरोना नभएको पुष्टि हुनुपर्ने बताए ।
उडान सुचारु भएपछि काठमाडौं आउने नागरिकले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने, पिसिआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टाइनमा राखिने र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्नेछ ।
मलेसिया, थाइल्याण्ड, हङकङ, अमेरिका, क्यानडा, चीन तथा यूरोपका विभिन्न मुलुकलाई पहिलो चरणमा खुला गर्ने तयारी भएको मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।