चितवनका २० सहित विभिन्न सात जिल्लाका गरी थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, ६ भदौ । भरतपुरस्थित प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा चितवनका २० सहित विभिन्न सात जिल्लाका गरी थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिवार बिहान प्राप्त नतिजा अनुसार चितवनका २० जना सहित विभिन्न सात जिल्लाका गरि थप ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।
उनका अनुसार संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिका– २, ७, १० र ११ नंम्वर वडाका १७ देखि ७८ वर्ष उमेर समूहका ७ जना पुरुष र ३ वर्षीया बालिकादेखि ३४ वर्ष उमेर समूहका ९ महिला गरी महानगरपालिका क्षेत्रभित्र १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको भरतपुर अस्पताल र भरतपुर सामुदायिक अस्पतालबाट स्वाब संकलन गरिएको थियो ।
यस्तै चितवनको राप्ती नगरपालिका २ र ८ नम्बर वडाका ३५ र ५५ वर्षीय २ जना पुरुष, त्यसैगरि २६ वर्षीया एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूको क्वारेन्टिन र चितवन मेडिकल कलेजबाट स्वाब संकलन गरिएको थियो ।
यसैगरी पूर्वी नवलपरासी, मकवानपुर, बारा, पर्सा र रौतहटका गरी ६ पुरुष र २ महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजबाट स्वाब संकलन गरिएको थियो । यस्तै बाँकेको नेपालगञ्जका ५ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरू ३५ देखि ४० वर्ष उमेर समूहका छन् । ती पुरूषहरूको बागेश्वरी ल्यावबाट स्वाब लिइएको हो ।
शुक्रवार प्रयोगशालामा राति १२ बजेसम्म २ सय ७० वटा नमुना परीक्षण गरिएको मध्ये ती ३३ जनामा संक्रमण देखिएको हो । बाँकी २ सय ३७ नमुनाको नतिजा भने नेगेटिभ आएको प्रयोगशालाकी प्रमुख डा. अधिकारी बताइन् । शुक्रवार अबेर रातीसम्म परीक्षण गरिएको नमूनाको नतिजा शनिवार बिहान प्रकाशन गरिएको हो ।
उता शुक्रवार प्रयोगशालाबाट प्राप्त नतिजा अनुसार बिहीवार रातिसम्म ३ सय ६ नमुना परीक्षण गरिएको मध्ये चितवनका २२ सहित विभिन्न पाँच जिल्लाका गरी थप २६ जनामा संक्रमण देखिएको थियो ।
उनीहरूको भरतपुर अस्पताल कोभिड(१९ परीक्षण प्रयोगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएको हो ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।