चितवनमा ३४ जना स्वास्थ्यकर्मीमा काेराेना संक्रमण, संक्रमित हुनेमा अधिकांश नर्स

चितवन, ५ भदाै । चितवनमा अहिलेसम्म ३४ जना स्वास्थ्यकर्मीमा काेराेना संक्रमण देखिएकाे छ ।
शुक्रवारसम्मकाे तथ्याङ्क अनुसार चितवनमा १० जना (२९%) चिकित्सकसहित ३४ जना स्वास्थ्यकर्मीमा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पाैडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।
उनका अनुसार संक्रमित हुनेमा अधिकांश नर्स छन् । ३४ जना स्वास्थ्यकर्मी मध्ये १९ जना नर्स मात्रै छन् । जुन कुल स्वास्थ्यकर्मी संक्रमितकाे ५६ प्रतिशत हुन आउँछ । बाँकी पाँच जना (१५%) भने अन्य स्वास्थ्यकर्मीहरू रहेका छन् ।
जेठ २६ गते साेमवार चितवनमा पहिलो पटक चिकित्सक र नर्समा काेराेना संक्रमण देखिएकाे थियाे । त्यतिबेला दुई जना चिकित्सक र एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । त्याे नै चितवनमा स्वास्थ्यकर्मीमा संक्रमण देखिएकाे पहिलो घटना थियाे । त्यसबिचमा चितवनमा कुनै पनि स्वास्थ्यकर्मीमा संक्रमण देखिएकाे थिएन । अहिले दुई सातायता चितवनमा लगातारजसाे स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिन थालेकाे छ ।
सूचना अधिकारी पाैडेलका अनुसार जिल्ला भित्र अहिलेसम्म संक्रमतकाे संख्या ३ सय ३ जना पुगेकाे छ । जसमध्ये १ सय १८ जना निकाे भइसकेका छन् भने १ सय ८२ जना उपचाररत छन् । त्यस्तै अहिलेसम्म चितवनका तिन जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । यसैगरि कैलालीको गोदावरी नगरपालिका ७ का एक जना पुरुषको पनि भरतपुर अस्पतालको आईसीयूमा उपचारको क्रममा मृत्यु भएको थियाे ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।