नेपालमा हालसम्मकै धेरै कोरोना संक्रमितको एकैदिन मृत्यु, संख्या १ सय ३७ पुग्यो

काठमाडौं, ५ भदौ । नेपालमा हालसम्मकै धेरै कोरोना संक्रमितको एकैदिन मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १ महिला र १० पुरुषगरि ११ जिल्लामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको बताए । यो संख्या हालसम्मकै धेरै रहेको पनि उनले बताए ।
मृत्यु हुनेमा मोरङका एक पुरुष, पर्साका एक पुरुष, बाराका एक पुरुष, सप्तरीका एक पुरुष, सर्लाहीका एक पुरुष, काठमाडौंका एक पुरुष, ललितपुरका एक पुरुष, चितवनका एक पुरुष, मकवानपुरका एक पुरुष, दोलखाका एक पुरुष र प्यूठानका एक महिलना रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।