नेपालमा एक महिनामै कोरोना संक्रमितको मृत्युदर तीन गुणाले बढ्यो

काठमाडौं, ५ भदौ । नेपालमा पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हुने दरमा वृद्धि हुँदै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो समय दैनिक औसतमा ६ देखि ८ जनाको दरले कोरोना संक्रमितको मृत्यु हुन थालेको छ ।
मन्त्रालयकै तथ्यांक मान्ने हो भने पछिल्लो एक महिनामा झन्डै तेब्बरको संख्यामा नेपालमा कोरोना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत साउन ४ गतेसम्म नेपालमा जम्मा ४० जनाको मृत्यु भएको थियो भने भदौ ४ गतेसम्म नेपालमा १ सय २६ जनाको मृत्यु कोरोना संक्रमणका कारण भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ४ गते एकजनाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थिएन भने भदौ ४ गते ६ जनाको मृत्यु कोरोना संक्रमणका कारण भएको छ ।
नेपालमा कोरोना संक्रमणको दर बढेसँगै मृत्यु हुने दरपनि बढ्दै गएको छ । तर, सरकार भने नेपालमा संक्रमितको तुलनामा मृत्युदर निकै कम रहेको बताउँछ ।
नेपालमा सुरुदेखि नै अधिकांश बिरामीको मृत्युपछि कोरोना संक्रमण पुष्टि हुने गरेको र अहिलेपनि त्यसले निरन्तरता पाइरहेको छ । नेपालमा हालसम्म १ सय २६ जनाको मृत्यु भएकोमा अधिकांशको मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको छ । यो विषयमा कति जनाको मृत्यु पश्चात कोरोना पुष्टि भएको हो र कतिको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको भन्ने यकिन तथ्यांक सरकारसँग छैन ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरु बेड अभाव, होम आइसोलेशन र समयमै अस्पताल पुग्न नसक्दा मर्न थालेका छन्. । सरकारले आफूसँग आईसीयू र भेन्टिलेटर दुबै पर्याप्त रहेको बताइरहँदा त्यसको पहुँचमा कहाँका नागरिक छन् भन्ने पनि सरकारसँग जानकारी छैन ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा प्रवक्ता डा जागेश्वर गौतमले दिने जानकारी अनुसार नेपालमा कोरोना संक्रमितको मृत्यु दर निकै कम भएकाले आत्तिनुपर्ने अवस्था छैन । तर, वास्तविक पीडितको पहुँचमा यदि समयमै स्वास्थ्य सेवा नपुग्ने हो भने नेपालको अवस्था झन् भयावह हुने देखिन्छ ।