‘रक्तश्राव भएको ५–६ घण्टा हुँदा पनि डाक्टरले वास्ता गरेनन्’



Download our app to get more features

काठमाडौँ, २५ असार । एक छेउका कपडाको पोको र पानी अनि अर्कोतिर ठूलो पेट लिएर गाह्रो गर्दै उभिएकी कविता मगर ।  डाक्टरले सुत्केरी हुन दिएको समय सरिसकेको छ । रक्तश्राव भएकाले उभिन पनि गाह्रो भएको छ । तर पनि उनले बेड खाली नहुदा भर्ना हुन पाएकी छैनन्।  

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आएकी उनी बिहान ६ बजेदेखि बस्ने ठाउँ नपाएर उभिरहनु परेको दुखेसो गर्दै  थिइन् । उनले भनिन्– “आज नै डाक्टरले बोलाएका थिए। गाह्रो भएर बिहानै आएको यहाँ बेड खाली छैन भनेर भर्ना नै गरेका छैनन् । अहिले दिउँसो ३ बज्यो, बस्ने ठाउँ पनि छैन । निकै गाह्रो भएको छ ।”

नेपालको एक मात्र सरकारी प्रसूति गृहमा बेड नपाएर दुःख पाएका अन्य धेरै गर्भवतीको अवस्था निकै विरक्त लाग्दो देखिन्थ्यो । सुत्केरी हुने समयमा छिटो र छरितो उपचार होला भनेर परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुगेका गर्भवती महिलाले आफूले पालो कुर्दासम्म पनि बस्ने ठाउँको सुविधा नहुँदा गर्भवतीको विजोग भएको गुनासो गरे ।

धुन्चे गाविस रसुवाबाट श्रीमतीलाई सुत्केरी गराउन प्रसूति गृह आउनुभएका दिनेश लामिछानेले बेड नपाउँदा श्रीमतीलाई निकै गाह्रो भएको बताए । उनले भने “आज चिकित्सकले भर्ना हुनुपर्छ भनेर बोलाएका थिए । चार घन्टा भयो आएको तर अहिलेसम्म बेड खाली छैन बाहिर बस्दै गर्नोस् भनेर भन्छन् । गर्भवतीलाई त बस्ने राम्रो व्यवस्था छैन, कुरुवाको त झन बेहाल छ ।

चार पाँच घन्टा उभिन निकै गाह्रो भएको छ ।’  पहिलो पटक सुत्केरी हुन लागेकी आफ्नी बुहारीलाई लिएर अस्पताल आएका भक्तपुरका राजु मिजार एक दिन अघि आउँदा बेड नपाएर घर फर्कन परेको गुनासो गरे।  घर लगेपछि बुहारीलाई रक्तश्राव हुन थालेपछि उनी पुनः बुहारीलाई बिहानै अस्पताल लिएर आए पनि बेड छैन भनेर पाँच, छ घन्टा बित्दा पनि डाक्टरले वास्ता नगरेको गुनासो गरेका छन् । उनले भने ‘छ घन्टा कुरेरपछि भर्ना लियो तर डाक्टरले राम्रो व्यवहार नगरेकाले निकै दुःख पाएका छौँ । रक्तश्राव भइरहेको छ । २२ गते सुत्केरी हुनुपर्ने समय डाक्टरले दिएका थिए । अहिलेसम्म भएको छैन । केही सोध्यो भने यहाँका नर्स, डाक्टरले झर्किएर जवाफ दिन्छन् ।’

अस्पतालमा बेड नपुगेर बिरामीले सास्ती भोग्नुपरेको स्वीकार्नुहुन्छ प्रसूति गृहका अस्पताल प्रशासक अमरनाथ अमात्य । उनले भूकम्पका कारण भवन भत्किएपछि ४१५ बेडको अस्पतालमा अहिले ३६५ जति मात्र बेड उपलब्ध भएकाले बिरामीलाई गाह्रो भएको बताए।  ‘भवन भत्किँदा हामीले सबै बेड प्रयोगमा ल्याउन सकेका छैनौँ । भवन नबन्दासम्म अलि गाह्रो नै छ । अरु विकल्प पनि छ्रैन’ उनले भने । प्रसूति गृहमा उपत्यका र वरपर जिल्ला गरी दैनिक ६० देखि ७० गर्भवती सुत्केरी हुनका लागि आउने गर्छन् भने बहिरङ्ग सेवा लिन आउनेको सङ्ख्या २०० को हाराहारीमा छन् । गत वर्षको गोरखा भूकम्पका कारण अस्पतालको ठूलो भवन भत्किँदा अहिले भवनको अभाव भएकाले सबै शै्यया प्रयोगमा आउन सकेको छैन । रासस   

Last modified on 2016-07-09 11:13:42

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts