सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु भएकामध्ये अधिकांश दीर्घरोगी



Download our app to get more features

धनगढी, ४ भदौ ।  गत चैत दोस्रो साता पहिलो पटक कोरोना संक्रमण देखिएको सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । कैलाली, अछाम, बाजुरा र बझाङका १२ जनाको मृत्यु भएकोमा ती मध्ये तीन जनाले भने आत्महत्या गरेका थिए ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश भित्र मात्र ७ जनाको मृत्यु भएको थियो । अन्यको प्रदेश बाहिरका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जेठ १८ गते सुदूरपश्चिममा पहिलो पटक बाजुराकी दुई वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

आमाबुवासँग भारतको नयाँ दिल्लीबाट आएकी दुई वर्षीया बालिकामा ज्वरो आएपछि श्वासप्रश्वासमा सममस्या थियो । बालिकाको मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो। आमामा समेत संक्रमण देखिएपनि बालिकालाई भने कडा खालको संक्रमणले च्यापेपछि मृत्यु भएको अस्पतालले जनाएको छ ।

बालिकाको मृत्युपछि भर्ना भएका संक्रमितहरुमा समेत कडा खालका लक्षण देखिएका थिएनन् । जिल्ला अस्पताल बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्माले बालिकामा कोरोना संक्रमणबाट कडा खालको निमोनियाको समस्या देखिएको बताए । अस्पतालमा सहयोगी उपचारका लागि पुगेका अन्य संक्रमित समान्य लक्षण देखिएको भएपनि बालिकाको जस्तो समस्या नभएको उनी बताउँछन् ।

कैलालीको गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुषको समेत कोरोना संक्रमणबाट मृत्यु भएको थियो । ती पुरुषमा समेत अहिले सम्म भेटिएका संक्रमित मध्ये कडा खालको लक्षण देखिएको थियो । निमोनिया भएपछि भेन्टिलेटरमा उपचार गराईरहेका पुरुषको मृत्यु भएको थियो ।

कोरोना विशेष अस्पताल तोकिएको सेतीमा उपचाररत संक्रमितहरु मध्ये अहिले सम्म कडा संक्रमण भएका बिरामी गोदावरीका मृतक नै रहेको अस्पतालले जनाएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड रोग उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले गोदावरीका मृतक पुरुषमा जस्तो अन्य बिरामीमा गम्भीर समस्या नदेखिएको बताए ।

बाजुरा र कैलालीमा कोरोना संक्रमणबाट मृत्यु भएका दुई जना बाहेक अन्य मृतकमा गम्भीर खालका लक्षण देखा नपरेको बताईएको छ । जेठ २४ गते कोरोना भाईरसले सुदूरपश्चिममा दोस्रो मृत्यु भएको थियो । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ वर्षीया महिलाको मृत्यु भएको थियो । 

ती महिला मृगौलाकी बिरामी थिईन्। असार ३ मा लम्कीचुहा नगरपालिका वडा नम्वर २ की ४३ वर्षीया महिलाको कोरोना भाईरसका कारण मृत्यु भएको थियो । ति महिलालाई न्यूरोसम्बन्धी समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो ।

असार १३ गते कैलालीकै  गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको थियो । ती पुरुष पनि फोक्साको क्यान्सरको उपचार गराइरहनुभएको थियो । साउन २९ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएका अछामका १८ वर्षीय पुरुष पनि मुटुरोगबाट ग्रसित थिए । 

यसरी हेर्दा प्रदेशमा कोरोनाको संक्रमणपछि गम्भीर बिरामी भएर मृत्यु हुनेको संख्या न्युन छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले प्रदेशमा कोरोनाको लक्षण देखिएर दुईजनाको मात्र मृत्यु भएको बताए ।

अन्य मृतक दीर्घरोगी र कुनै न कुनै रोगबाट ग्रसित रहेको बताए । तर विश्व स्वास्थ्य संगठनले भने प्रतिनिधि खटाएर मृतकका बारेमा आवश्यक अध्ययन गरिरहेको जनाएको छ ।

सुदूरपश्चिममा कोरोना संक्रमणपछि गम्भीर बिरामी भएर ज्यान गुमाउनेको संख्या अहिले सम्म न्युन देखिएपनि स्वास्थ्य सुरक्षाका उपाय र आवश्यक सावधाानी नअपानाएमा स्थिती नियन्त्रण बाहिर जान सक्ने जोखिम कायमै रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts