कोरोना संक्रमितको मनोबल बढाउन बुटवलका मेयर पत्र लिएर घर-घरमा



Download our app to get more features

रुपन्देही, ४ भदौ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बुटवलमा बढिरहेको बेला संक्रमितको मनोबल बढाउन नयाँ कामको थालनी गरिएको छ ।

संक्रमणको रोकथाम र संक्रमितको मनोबल बढाउन बुटवल उपमहानगरपालिकाले विभिन्न उपायहरु अबलम्बन गरेकोे छ ।

सचेतना, सावधानी, क्वारेन्टाइन, आइसोलेशन सेन्टर हुँदै भेन्टिलेटर र आईसीयूसहितका अस्पतालसम्म निर्माण गरिएका छन् । यसका अतिरिक्त लक्षण नदेखिएका संक्रमित र कन्ट्रयाक टे«सिङमा परेकाहरुलाई सुरक्षित तरिकाले होम आइसोलेशनमा राखिएका छन् ।

होम आइसोलेशनमा राखिएका तिनै संक्रमित र तिनका परिवारलाई भेट्न बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी घरघरमा पुगेका छन् । स्वास्थ्य सावधानीका उपायको जानकारीसहितको स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्दतिका आयुर्वेद ओखती बोकेर आइसोलेशनमा मेयरसहितको टोली नै आएपछि संक्रमितमा मनोबल बढेको छ । 

नगरका प्रमुखकै नेतृत्वमा आयुर्वेद ओखतीसहित संक्रमितको घरदैलोमा पुगेर हौसला बढाउने र स्वास्थ्य लाभको कामना गर्ने यो नयाँ तरिका नेपालमै पहिलो पटक बुटवलमा सुरु भएको छ । 

विभिन्न परिस्थितिमा संक्रमित हुन पुगेका र स्वास्थ्य सावधानीसहित होमआइसोलेशनमा बसेहरुलाई घरदैलोमै पुगेर स्वास्थ्यलाभको कामना गरिएको प्रमुख सुवेदीले वताए । भेटघाट गर्ने क्रममा सुरक्षा सावधानी अपनाइएको र अरुलाई पनि अपनाउन अपील गरिएको थियो । 

बुधबार मात्रै विभिन्न २६ स्थानमा रहेको होम आइसोलेनका संक्रमितलाई घरमै पुगेर मेयर सुवेदीले भेटघाट गर्दै स्वास्थ्य लाभको कामना गरे । त्यसक्रममा समुदाय स्तरमा सचेतनाका पत्र र सावधानीका उपायका बारेमा समेत सुरक्षा प्रवन्धसहित जानकारी गराउने गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

‘कोठामा मोबाइल चलाएर बसिरहेको थिएँ, तर गेटमा एक्कासी मेयरसहतिको टोली ओखतीको पोको बोकेर आएको रहेछ एकदमै खुशी लाग्यो’ होम आइसोलेशनमा बस्नुभएका बुटवल–११, का केशवराज ज्ञवालीले भने, ‘यस्तो अभियानले मेरो मात्रै होइन धेरैको मनोबल बढाउँछ ।’ 

प्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, होम आइसोलेशन रहेका सम्बन्धित वडाका अध्यक्षहरु रामचन्द्र क्षेत्री, नारायणप्रसाद पुन र उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहसहितको टोलीले सुरक्षा प्रबन्धसहित संक्रमितको स्वास्थ्य लाभको कामना गर्न होम आइसोशनमा पुगेका छन् ।

संक्रमितको मनोबल बढाउन आयुर्वेद र स्वास्थ्यलाभको पत्र बोकेर बुटवलका मेयर होम आइसोलेशनमा जान थालेकोे जानकारी दिंदै उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले महामारी नियन्त्रणको अभियानसँगै अब यसलाई पनि निरन्तरता दिइने बताए ।

बुटवलमा मात्रै बुधबारसम्म एक सय २७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित भएका मध्ये केही त बुटवल उपमहानगरपालिकाकै कर्मचारीसमेत छन् । संक्रमित भएका उनीहरु सबै आइसोलेशनमा राखिएका छन् भने परिवारमो पनि परीक्षण भइरहेको छ । अधिकांशमा लक्षण नदेखिएको र सुरक्षा सावधानीमा रहेको उपमहानगरले जनाको छ । कहाँबाट संक्रमण सुरु भएको हो र कसरी फैलिइएको हो त्यसकोसमेत खोजी गर्दै उपमहानगरले कन्ट्रयाक्ट् ट्रेसिङ गरिरहेको स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले बताए । 

बुटवल उपमहानगरपालिकाले पछिल्लो समयमा बजारको भीड नियन्त्रण गर्न समेत नयाँ मापदण्ड बनाएर कडाई गरिरहेको छ । सचेतनाका कार्यक्रम र टोलटोलमा स्वयंसेवक समेत परिचालन गर्दै नियन्त्रणका काम प्रभावकारी बनाउन लागिएको प्रवक्ता रेग्मीले बताए ।

प्रदेशको मुकाम भएको र तीनै तहका कार्यालयहरू बुटवलमै रहेकाले पनि त्यस खालको भीड बुटवलमा बढि हुने गरेको छ । प्रादेशिक हस्पिटल, निजी तथा सामुदायिक अस्पतालमा आउनेहरूका कारण पनि बुटवलमा भीड बढी हुने गरेको पाइन्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts