खाद्यान्नका पसल बिहान ७ बजेसम्म मात्रै खुल्ने

काठमाण्डौं,४ भदौ । निषेधाज्ञाको समयमा खाद्यान्नसहितका पसल बिहान ७ बजेसम्म मात्रै खुल्न पाउने भएका छन् ।
खाद्यवस्तुु, तरकारी, फलफुल, दूधका पसल तथा व्यवसाय बिहान ७ बजेसम्म मात्रै खोल्न पाइने भएको हो । अत्यावश्यक सेवाभित्रै पर्ने भए पनि खाद्यान्नका पसल, तरकारी, फलफुल तथा दूध डेरी दिनैभरि खुलाउँदा भिडभाड बढ्ने र कोरोना सङ्क्रमणको जोखिम हुने भएकाले बिहान ७ बजेसम्म मात्रै खुलाउन भनिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
यसअघि हिजो जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको सूचनामा निषेधाज्ञाको समयमा खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा सञ्चालन गर्न पाइने उल्लेख छ ।अहिले काठमाण्डौका धेरै ठाउँमा खुल्ला रहेका पसल प्रहरीले बन्द गराउँदै अनुगमन बढाएको छ ।
त्यस्तै मासुजन्य पदार्थ, दाना र भेटेरिनरी, बैंक, बीमा, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ लगायतका सेवा पनि सञ्चालन हुने भनिएको छ ।