निषेधाज्ञामा थप कडाइ, 'अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कौं'



Download our app to get more features

 काठमाण्डौं,४ भदौ । काठमाण्डौं उपत्यकामा  गएराति १२ बजेदेखि आउँदो बुधबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू भएको छ ।

अहिले चोक(चोकमा सुरक्षाकर्मी खटिएका छन् । अत्यावश्यक कामबाहेक हिँड्नेलाई प्रहरीले रोकेको छ । मर्निङवाकमा समेत ननिस्कन प्रहरीले आग्रह गरेको छ ।

अत्यावश्यकबाहेकका कामका लागि निस्किएको पाइए सुरक्षाकर्मीले सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्नेछन् । यो ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा  एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । 

त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएकाले यसअघि लकडाउनमा अपनाइएको सहजीकरण समेत यसपटक हुने छैन । 

अनावश्यकरुपमा घरबाट निस्किए कारबाही हुनेछ । सार्वजनिक तथा निजी गाडी चलाउन पाइने छैन भने कुनै गाडीको पास पनि जारी हुने छैनन् । काठमाण्डौ उपत्यकाभित्र गाडी प्रवेशमा पनि निषेध गरिएको छ । 
यस्तै खाद्यान्न, औषधिजन्य बाहेकका ढुवानीसमेत रोकिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । 

अत्यावश्यक सेवा तथा वस्तुबाहेकका सबै प्रकारका व्यापार, व्यवसाय खोल्न रोक लगाइएको छ । अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका गाडी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने गाडी मात्रै चल्नेछन्। कोभिड(१९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने व्यक्तिले आधिकारीक परिचयपत्रको आधारमा ओहोरदोहोर गर्न पाउनेछन् । 

अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ देखि साढे १० सम्म र दिउँसो ३ देखि साढे ५ बजेसम्म आवागमन गर्न पाउने व्यवस्था गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

तर  पूर्व अनुमति आवश्यक नपर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफुल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वरेण्टीन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेरआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने गाडी चलाउन पाइने छ ।

दैनिक एक सयभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि महामारीबाट जोगाउनको लागि कडाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले जनाएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबारको बैठकले गए रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेधको आदेश जारी गरेको हो ।
 यसैबीच अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने, जम्मा गर्ने वा लुकाउने, सहज आपूर्तिमा अवरोध गर्नेलाई कडा कारबाही गर्ने पनि चेतावनी दिइएको छ ।

Last modified on 2020-08-20 07:52:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts